Logo
१३ बैशाख २०८१, बिहीबार
(February 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छिमेकी र चिनजानकै व्यक्तिबाट १६ वर्षभन्दा मुनिका बालिका बलात्कारको सिकार बन्दै

सिन्धुली : सिन्धुलीमा भएका बलात्कारका घटनामा छिमेकी र चिनजानकै व्यक्तिबाटै बलात्कार हुने गरेको पाइएको छ । नजिकका व्यक्तिबाट नै बलात्कारका घटना घटेको र बालिका बढी यसको सिकार बनेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्कले देखाएको हो । सिन्धुलीमा विगत ३ वर्षको तथ्याङ्कअनुसार १६ वर्षभन्दा मुनिका बालिका बढी बलात्कारको सिकार भएको पाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए

उमेर समूहका आधारमा आर्थिक वर्ष २०७२/७३ देखि तीन आवमा १६ वर्षभन्दा मुनिका १४, १६ वर्षदेखि २५ वर्ष उमेर समूहका किशोरी ८, २५ वर्षदेखि ३५ वर्ष उमेर समूहका ५ र ४५ वर्षभन्दा माथिका ६ बलात्कृत भएको उनको भनाइ छ । यसबाट सबैभन्दा बढी बालिका पीडित बनेका छन् । सबैभन्दा बढी १६ वर्षभन्दा मुनिका बालिका नै पीडित रहेको र अघिकांश बलात्कारका घटनामा छिमेकी र चिनजानका व्यक्ति नै पीडक रहेको प्रहरी उपरीक्षक सिंहले बताए ।

उनका अनुसार आव २०७२/७३ देखि तीन आवभरिमा छिमेकीबाट १८, चिनजानका व्यक्तिबाट १५ र अपरिचित व्यक्तिबाट दुई यस्ता घटना भएका छन् । जसमा निरक्षर व्यक्तिबाट छ, सामान्य लेखपढ गर्न सक्ने व्यक्तिबाट १९, एसइई पास गर्ने व्यक्तिबाट ४ र सोभन्दा माथि शैक्षिक योग्यता भएको व्यक्तिबाट एक घटना घटेको छ । जबरजस्ती करणीका घटना न्यूनीकरणका लागि आवश्यक जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै प्रहरी उपरीक्षक सिंहले त्यस्ता कार्यक्रमतर्फ प्रहरी अग्रसर हुने बताए ।

बलात्कार हुनेमा विवाहितभन्दा पनि अविवाहितको सङ्ख्या धेरै रहेको छ । “३ वर्षको तथ्याङ्क हेर्दा पनि विवाहित ११ र अविवाहित २७ बलात्कारको सिकार भएको पाइयो, हालसम्म आव २०७२/७३ मा १५, २०७३/७४ मा १२ र चालू आवको सात महीनामा ११ घटना जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा दर्ता भएका छन्”, उनले भने । जबरजस्ती करणीका घटना बिहानकै समयमा बढी हुने गरेको र महीनाको हिसाबले पनि असोज र कात्तिकमा यस्ता घटना बढी रहेको उनको भनाइ छ ।

प्रहरी एक्लैले यस्ता घटना न्यूनीकरण गर्न नसक्ने भन्दै उनले प्रहरीले ल्याएको समुदाय-प्रहरी साझेदारी कार्यक्रममार्फत यस्ता घटना न्यूनीकरण गर्ने लक्ष्य रहेको बताए । बलात्कारका घटना न्यूनीकरणका लागि प्रहरीले सिन्धुलीका सबै विद्यालय र समुदायमा जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम गर्ने लक्ष्य रहेको पनि प्रहरी उपरीक्षक सिंहको भनाइ छ ।

“कसरी कार्यक्रम सञ्चालन गर्ने भन्नेबारे अवधारणा बनाउँदैछौँ, बलात्कारका घटनाबाट धेरै बालिका पीडित भएको पाइयो, सबैभन्दा पहिला विद्यालयस्तरमा र समुदायस्तरमा कार्यक्रम गरी जबरजस्ती करणीलाई निरुत्साहित बनाई सभ्य समाज बनाउन प्रेरित गर्दै यससम्बन्धीका कानूनी प्रक्रियाका बारेमा समेत जानकारी गराउनेछौँ”, उनले भने । प्रहरी साझेदारी कार्यक्रम सञ्चालन भएको र यसको अवधारणाले पनि अपराधमुक्त समाज बनाउन सहयोग पुग्ने भएकाले समुदायका साना बालबालिकादेखि सबैसँग सहकार्य गरिने उनको भनाइ छ ।

बलात्कारजन्य घटना न्यूनीकरण गर्न विशेष अभियान सञ्चालन हुने र यसमा जिल्लामा क्रियाशील सामाजिक सङ्घसंस्थासँग पनि साझेदारी गरिने प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए ।

प्रकाशित मिति: Feb 20, 2019

प्रतिक्रिया दिनुहोस्