Logo
१३ बैशाख २०८१, बिहीबार
(February 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-भारत सीमा अवस्था : २ हजार बढी सीमास्तम्भ गायब, संयुक्त सर्वेक्षण टोली परिचालन 

काठमाडौं :  नेपाल-भारत सीमा क्षेत्रका तीन गुणाभन्दा बढी सीमास्तम्भ हराएका छन् । ८ हजार ५५४ सीमास्तम्भमध्ये २ हजार ३४४ वटा हराएको नापी विभागले जनाएको छ । हाल नेपाल-भारत संयुक्त सीमा सर्वेक्षण टोलीले हराएका सीमास्तम्भहरूको खोजतलास जारी राखेको नापी विभागले स्पष्ट पारेको छ ।

कुल सीमास्तम्भमध्ये ४५७ वटा मात्र राम्रा अवस्थामा रहेका छन् ।  १ हजार ५५६ वटा सीमास्तम्भ पूर्ण क्षतिग्रस्त अवस्थामा रहेका छन् । २ हजार ८८९ वटा भने सामान्य क्षति भएको अवस्थामा पाइएको छ । ६९६ वटा निर्माण हुन बाँकी छ भने ११२ निर्माणाधीन अवस्थामा छन् ।

नापी विभागका प्रमुख नापी अधिकृत कृष्णप्रसाद सापकोटाले क्षतिग्रस्त र भत्किएका सीमास्तम्भको निर्माण कार्य भइरहेको जनाए । ‘नेपाल-भारत संयुक्त सीमा सर्वेक्षण टोलीले विभिन्न जिल्लामा सीमास्तम्भ निर्माण गर्नेगरी कार्य गरिरहेको छ,’ प्रमुख नापी अधिकृत सापकोटाले भने, ‘अधिकांश सीमास्तम्भ नदीनाला र खोलाले बगाएर हराएको देखिन्छ ।’
वर्षायाममा खोलामा पानीको वहाब बढ्दा सीमास्तम्भ भत्किएर जाने र निर्माण भने तत्काल हुने नगरेको पाइएको छ ।

नदीनाला क्षेत्रमा करिब ३ हजार सीमास्तम्भ छन् । ‘साना खोलाहरूमा १ हजार ५ सय र ठूला खोलामा पनि १ हजार ५ सयको हाराहारीमा स्तम्भ रहेका छन्,’ सापकोटाले भने, ‘नदीनाला र खोलामा रहेका सीमास्तम्भहरूको अध्ययन/अनुसन्धान गर्नसमेत समस्या देखिएको छ । हामीसँग अत्याधुनिक प्रविधि पनि छैन ।’
प्रमुख नापी अधिकृत सापकोटाले नदीनालाबाट नोक्सानी नहुने गरी सीमास्तम्भ निर्माण गर्न सकेको खण्डमा मात्र हराउनबाट रोकिने बताए ।

कतिपय सीमास्तम्भ भने भारतले भौतिक पूर्वाधार निर्माण गर्नेक्रममा ध्यान नदिई भत्काइदिएको गुनासोसमेत स्थनीय स्तरबाट आउने गरेको छ । यस विषयमा नेपाल सरकारको ध्यान भने जान सकेको छैन ।

आर्थिक वर्ष २०७१/७२ देखि चालू आर्थिक वर्ष २०७५/७६ माघसम्ममा ३ हजार ४३७ वटा सीमास्तम्भको मर्मत तथा निर्माणको काम भएको सापकोटाले दाबी गरे । ‘२११ वटा रंगरोगन गर्ने काम भएको छ, १ हजार ९८४ वटा मर्मत भएका छन्, १ हजार २४२ वटा सीमास्तम्भ पुनः नयाँ नर्माण गरिएको छ,’ सापकोटाले भने । उनले सीमास्तम्भको विषयमा नियमित रूपमा नापीको ध्यानाकर्षण हुने गरेको बताए ।

सीमास्तम्भ निर्माणका लागि दुवै मुलुकले सन् १९१८ देखि संयुक्त कार्य गरे पनि विवाद समाधान हुन सकेको छैन । सन १९१८ देखि २००७ सम्ममा नेपाल-भारत संयुक्त सीमा सर्वेक्षण टोलीले निरन्तर अध्ययन गरेर नेपाल भारतको नक्साअनुसार ८ हजार ५५४ वटा सीमास्तम्भ भएको पत्ता लगाएको थियो । सन् २००७ देखि २०१४ सम्म नेपाल-भारत संयुक्त सीमा सर्वेक्षण कार्य रोकिएको थियो । नेपाल-भारत सम्बन्धमा सुधार आएपछि सन् २०१४ मा तेस्रो संयुक्त आयोग गठन भएपछि नेपाल-भारत संयुक्त सीमा सर्वेक्षण कार्यले निरन्तर पाएको थियो ।

नेपाल-भारत सरकारबीचको सम्बन्धमा तिक्तता आएपछि संयुक्त सीमा सर्वेक्षण कार्य रोकिएपछि होे । संयुक्त सीमा सर्वेक्षण रोकिँदा सीमा क्षेत्रका धेरै स्तम्भ पूर्णरूपमा क्षति भएका पाइएको सापकोटाले बताए ।

आगामी तीन वर्षभित्र स्तम्भ निर्माण कार्य सक्ने योजना रहेको छ । हाल नेपाल-भारत संयुक्त सीमा सर्वेक्षण टोलीले चार जिल्लामा काम गरिरहेको छ भन्दै राजधानीमा खबर छ । १ नम्बर टोलीले झापा र मोरङ, २ नम्बर टोलीले धनुषा, ३ नम्बर टोलीले रूपन्देही र कपिलवस्तु तथा ४ नम्बर टोलीले कैलालीमा सीमास्तम्भको काम गरिरहेको छ ।

प्रकाशित मिति: Feb 19, 2019

प्रतिक्रिया दिनुहोस्