Logo
६ चैत्र २०८०, मंगलबार
(February 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्रीहरु संघीय सरकारप्रति असन्तुष्ट, संघीयतालाई आत्मसात गर्न नसकेको आरोप

काठमाडौं : प्रदेश सरकारका मुख्यमन्त्रीहरुले संघीय सरकारको कामप्रति असन्तुष्टि जनाएका छन । प्रदेश सरकारका मुख्यमन्त्रीहरुले संघीय सरकारले संघीयतालाई आत्मसात गर्न नसक्दा आफूहरुले काम गर्न नसकेको दावी समेत गरेका छन ।

सोमबार काठमाडौंमा ‘मुख्यमन्त्रीसँग मुखामुख’ कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले संघीय सरकारले संवैधानिक अधिकार हस्तान्तरण गर्न विलम्ब गरेकाले प्रदेश सरकारले आफ्नो कामलाई तीव्रता दिन नसकेको दावी गरे । उनले प्रदेश सरकार आफ्नो कामलाई तीव्रता दिन सक्षम भएपनि सोही अनुसारको व्यवस्था गर्न संघीय सरकारले नचाहेको गुनासो गरे ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारले आफू कमजोर हुन्छुकि भन्ने केन्द्रिकृत मान्यताका कारण संघीयताको मर्म अनुसार मुलुकमा काम हुन नसकेको आरोप लगाए । उनले संविधानले तीनै तहको अधिकारको व्यवस्था गरेपनि संघीय सरकारले त्यसलाई बेवास्ता गरेर अघि बढिरहेको बताए ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीय सरकारले संघीयतालाई आत्मसात गर्न नसकेकाले प्रदेश सरकारले आफ्नो काममा गति दिन नसकेको दावी गरे । उनले तीनै तहको सरकारले मिलेर मुलुकलाई समृद्ध बनाउने अभियानलाई सफल बनाउनुुपर्नेमा पनि जोड दिए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तीन वटै तहको सरकारबीच समन्वय गर्ने ऐन समेत नबनाएको भन्दै संघीय सरकारको आलोचना गरे । उनले तीनै वटै तहको सरकारबीच समन्वय हुने गरी तत्काल ऐनको व्यवस्था गर्न पनि संघीय सरकारको ध्यानाकर्षण गराए ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले संघीयता कार्यान्वयनका लागि बौद्धिक बहसको आवश्यक्तामा जोड बताए। उनले स्रोतको खोजि गर्ने अधिकार संविधानले प्रदेश सरकारलाई दिएकाले त्यसमा संघीय सरकारलाई दोष दिएर उम्कने छुट कसैलाई पनि नरहेको बताए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघीय सरकारको एकात्मकवादी चिन्तनका कारण संघीयता कार्यान्वयनमा समस्या भईरहेको आरोप लगाए ।

उनले मुलुक बनाउन तीव्र आर्थिक विकासमा जोड दिनुपर्ने भएपनि सो अनुसार संघीय सरकार अघि बढन नसक्दा प्रदेश सरकार खुम्चेर बस्नु परेको गुनासो पनि गरे । मुख्यमन्त्री शाहीले संघीयता कार्यान्वयनका लागि प्रदेश सरकारलाई व्यवस्था गरिएको संवैधानिक अधिकार सुनिश्चित नगरे मुलुक द्धन्द्धमा फस्न सक्ने चेतावनी पनि दिए।

प्रकाशित मिति: Feb 18, 2019

प्रतिक्रिया दिनुहोस्