Logo
१२ बैशाख २०८१, बुधबार
(February 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सङ्घ, प्रदेश र स्थानीय तहमा मन्त्रालयद्वारा १२ हजार शाखा अधिकृतको समायोजन

काठमाडौँ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करीब १२ हजार शाखा अधिकृतको समायोजन गरेको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा करीब १२ हजार शाखा अधिकृत समायोजन गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए। उनका अनुसार प्रशासन, लेखा, राजश्व र शिक्षा सेवाको शाखा अधिकृतलाई समायोजन गरिएको छ ।

सरकारले ‘कर्मचारी समायोजन अध्यादेश-२०७५’ अनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरेको हो । यसअघि मन्त्रालयले सचिव, सहसचिव र उपसचिवलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गरेको थियो । ६६२ सहसचिवमध्ये सङ्घमा ५६० र प्रदेशमा १०२ तथा उपसचिवमध्ये सङ्घमा ८३६, प्रदेशमा ८ र स्थानीय तहमा ४ को समायोजन गरेको थियो ।

मन्त्रालयले यही फागुन ३ गते समायोजन रोजेका सबै कर्मचारीको समायोजन गर्ने भने तापनि प्राविधिक कारण त्यो हुन नसकेको हो । प्रवक्ता अधिकारीका अनुसार कृषि, वन, स्वास्थ्य र इञ्जिनीयर सेवाको शाखा अधिकृतको समायोजन गर्न भने बाँकी छ । सरकारले तीनै तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्ने समयसीमा तोकेको थियो ।

सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ ।

प्रकाशित मिति: Feb 18, 2019

प्रतिक्रिया दिनुहोस्