Logo
४ बैशाख २०८१, मंगलबार
(February 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौं महानगरभित्र पुनः नाइट बस चालनका गर्ने तयारी

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरभित्र पुनः नाइट बस चालन गर्ने तयारी सुरु गरेको छ । यसअघि केही समय सञ्चालन भएर बन्द भएको रात्रिकालीन बस सेवा सञ्चालन गर्नका लागि काठमाडाैँ महानगरपालिकाले छलफल सुरु गरेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।

उनका अनुसार अहिले यातायात व्यवस्था विभाग, निजी बस कम्पनी, साझा यातायात, नेपाल प्रहरी, ट्राफिक प्रहरीलगायतका सरोकारवाला निकायसँग छलफल भइरहेको छ । महानगर भए पनि ८ बजे नै सुनसान सहरजस्तो भएको भन्दै महानगरपालिकालाई रातमा पनि जीवन्त बनाउन नाइट बस सञ्चालन गर्न लागेको हो । नाइट बस सञ्चालन गरे केही हदसम्म अहिलेको ट्राफिक जामको समस्यासमेत कम हुने अपेक्षा गरिएको छ ।

यातायात व्यवसायीसँग भएको छलफलमा सुरक्षा र वैज्ञानिक भाडादर कायम गरे रात्रिकालीन सेवा दिन सकिने प्रतिक्रिया दिएको डंगोलले जानकारी दिए । कति बजेसम्म कुनकुन रुटमा चलाउने भन्ने विषयमा अहिले छलफल भइरहेको छ । केही समयभित्रै रात्रिकालीन बस सेवाबारे टुंगो लाग्ने डंगोलले बताए । महानगरका अनुसार पहिलो चरणमा ११ बजेसम्म सञ्चालन गर्दा उपयुक्त हुने निष्कर्ष निकालिएको छ । यसलाई बढाएर बिस्तारै केही घण्टा समय थप्न सकिने निष्कर्ष निकालिएको छ । काठमाडौं महानगरपालिकाभित्र नाइट बस सञ्चालन गर्न लागिएको हो ।

अहिले सार्वजनिक सवारीसाधन राती १० बजेसम्म सञ्चालन गर्ने सर्तसहित यातायात व्यवस्था विभागले रुट इजाजत दिनेगर्छ । तर व्यवसायीहरूले ८ नबज्दै सवारीसाधन थन्क्याउने गरेका छन् । नाइट बस सेवाका लागि काठमाडांै महानगरपालिकासँग अनौपचारिक छलफल भएको यातायात व्यवस्था विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार स्थानीय तहले नै रात्रिकालीन बस सेवा सञ्चालन गर्दा उपयुक्त हुन्छ ।

पिक एन्ड ड्रप महानगरपालिकाले नै सुरुवात गरेको र त्यो प्रभावकारी भएकाले रात्रिकालीन बस सेवा पनि महानगरले गर्दा उपयुक्त हुने उपाध्यायको भनाइ छ । यसका लागि विभागले सहजीकरण भने गरिदिन सक्ने उनको भनाइ छ । वैज्ञानिक भाडादर कायम गर्नका लागि विभागले नीति तर्जुमा गर्न सक्छ ।

अहिले ८ बजेपछि ट्याक्सीले दोब्बरसम्म लिने गरेका छन् । यो व्यवस्था भाडाका बसहरूका लागि पनि गर्न सकिने उपाध्यायले बताए । रात्रिकालीन सेवा अहिले माग र आवश्यकता भएकाले अब सञ्चालन गर्नुपर्ने विभागको ठहर छ । रातिसम्म बसहरू पाइन्छ भन्ने भएपछि मानिसहरूको चहल पहल बढ्छ ।

यसैगरी, कुनै कम्पनीका २० वटा बसहरू सञ्चालनमा भए दिनमा १९ वटा बस सञ्चालन गरेर रातमा एउटा बस सञ्चालन गर्नुपर्ने नीति विभागले बनाउन सक्छ । रात्रिकालीन भाडाका सवारीसाधन सञ्चालन गर्नका लागि मुख्य चुनौती भनेको सुरक्षा हो । काठमाडौंमा करिब ६ वर्षअघि १४ वटा नाइट बस सञ्चालनमा ल्याइएको भए पनि केही समयपछि बन्द भएको थियो ।

त्यसबेला काठमाडौं महानगरपालिका र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ मिलेर रात्रि बस सञ्चालनमा ल्याएको भए पनि राम्रो व्यवस्थापन हुन नसक्दा बन्द भएको थियो । अहिले आवश्यकता नै बनिसकेकाले दिगो हुने महानगरको दाबी छ ।

प्रकाशित मिति: Feb 16, 2019

प्रतिक्रिया दिनुहोस्