Logo
११ बैशाख २०८१, मंगलबार
(February 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनका लागि ‘मधेशी एजेन्ट’ भनिएकाहरुले बढाए प्रदेश २ मा सक्रियता

जनकपुर : चीनका लागि मधेशी एजेन्ट भनिएका चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टरका निर्देशक डा. राजिव झा जनकपुरमा सक्रिय भएका छन् । मधेश केन्द्रित दललाई चाइना भ्रमण गराउन सफल भएका झा अचेल जनकपुरमा पत्रकार तथा संचारकर्मी माझ बाक्लो उपस्थिती देखाउदैँ भेटघाटलाई तिव्रता दिन थालेका छन् ।

काठमाण्डौँमै केन्द्रित रहि चीन-नेपालको कोशेढुंगे सम्बन्ध सुमधुर गरिरहेका डा.झा अचेल प्रदेश नम्बर २ को राजधानी मानिएको जनकपुरमा पनि सक्रियता बढाउदैँ गएका छन् । जनकपुर स्थित नेपाल पत्रकार महासंघ धनुषा शाखामा आयोजित एक कार्यक्रममा पत्रकारसंग भेटघाट गर्दै निर्देशक झाले चीनले तराई-मधेशमा सामाजिक-आर्थिक विकासका लागि सहयोग गर्न तत्पर रहेको बताए ।

उनले चीनप्रतिको तराई-मधेशको सोचाई र बुझाई धेरै फरक रहेकाले विभिन्न भ्रमहरुलाई चिर्न आवश्यकता रहेको बताएका थिए ।
उनले प्रदेश नम्बर २ का पत्रकारहरुलाई क्षमता अभिवृद्धि तथा तालिम लगायतका विभिन्न सिपमा सहयोग गर्ने वाचा समेत गरेका छन् ।

उनले धनुषामा धार्मिक तथा राजनीतिक भेटघाटलाई समेत तिव्रता दिएको छ । पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत रहेका नेकपाका नेता रामचन्द्र झा र जनकपुर आईपुगेका पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसंग समेत जनकपुर विमानस्थलमा भलाकुसारी गरे ।

उनले प्रदेश नम्बर २ को सामाजिक–आर्थिक राजनीतिक तथा प्रदेशको विकासको बारेमा व्यापक छलफल भएको जनाए । नेता रामचन्द्र झाले प्रदेश नम्बर २ मा विभिन्न अन्तर्राष्ट्रिय निकायको ध्यानकेन्द्रित भईरहेको बेलामा चीनको चासो हुनु स्वभाविक भएको टिप्पणी गरे ।

चीनको मजबुत सूत्र मानिएका डा. राजिव झाले जानकी मन्दिरका महन्तहरुसंग भेटघाट गरि धार्मिक र सामाजिक बारेमा समेत कुराकानी गरेकाछन् । लामो समयदेखि चीनमा बस्दै आएका डा. राजिज झाको गृहजिल्ला समेत रहेको धनुषामा यसरी उनले पहिलो पटक सामाजिक स्तरमा मन्दिरका महन्तदेखि नेता तथा पत्रकारहरुसंग भेटघाट गरेको बताइएको छ ।

विगत दुई दशक देखि चीनमा बस्दै आएका डा. झाले राजनीतिक तथा सामाजिक रुपमा समेत सक्रियता देखाएका हुन् । उनले तराई-मधेश तथा प्रदेश नम्बर २ मा प्रत्यक्षरुपमा भेटघाट गर्नुपूर्व प्रदेश नम्बर २ का सत्तारुढ दल समेत रहेका मधेश केन्द्रित दल राजपा नेपाल, संघिय समाजवादी फोरम नेपालका विभिन्न नेतालाई औपचारिकरुपमै चीन भ्रमण गराउन सफल भएका छन् ।

जनकपुरमा सक्रिय रहेका भारतीय लबीका मधेश केन्द्रित दलका नेताहरु भने व्यापक शंका गर्दै चलखेलको रुपमा लिएको बुझिएको छ ।वीरगंज स्थित भारतीय महावाणिज्यदुतावासले समेत जनकपुरमा भईरहेको डा. झाको भेटघाटको निगरानी गरिरहेका छन् ।

प्रदेश नम्बर २ मा रहेका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमाथि दवाव सृजना भएको राजपा नेपालका एक नेताको बुझाई छ ।  राउत सरकारसंग चीनले सम्बन्ध बनाउन विभिन्न स्तरमा सक्रियता बढाउन थालेका छन् ।

प्रदेश २ को राउत सरकार भारतको प्रत्यक्ष प्रभावमा रहेको बखत चीनको सक्रियतासंगै गतिविध बढ्नुलाई भारतीय कुटनीतिले पुनः नेपालमा धक्का लाग्न सक्ने अनुमान बुद्धिजिवीहरुले लगाउन थालेका हुन् ।

चीनले मधेशमा चासो देखाउदैँ सक्रियता बढाउन थालेपछि यता प्रदेश नम्बर २ मा राउत सरकारले बनाएको मदर्सा बोर्ड गठन सम्बन्धी विधेयकलाई लिएर मधेश केन्द्रित दलकै नेताहरुले साउदी अरेबीयाको उक्साहटमा यूरोपियन यूनियनदेखि विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले प्रदेश नम्बर २ मा धार्मिक द्वन्द्व निम्त्याउन उद्धत रहेको टिप्पणी हुन थालिएको छ ।

प्रकाशित मिति: Feb 16, 2019

प्रतिक्रिया दिनुहोस्