Logo
८ बैशाख २०८१, शनिबार
(February 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली महिला फुटबल टोली : उसकै भूमिमा भारतमाथिको पहिलो जितको खुशी

काठमाडाैं : नेपाली महिला फुटबल टोलीले सीमित अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएको छ । नेपालको उपलब्धि र प्रतियोगिता पर्याय रूप नै महिला साफ च्याम्पियसिप थियो । केही समययता महिला टोलीले अन्तर्राष्ट्रिय सहभागिता बढाउँदै लगेको छ । यस किसिमको एक्सपोजले महिला खेलाडीले अन्तर्राष्ट्रिय सफलता हासिल गर्न सक्ने आधारहरू तयार पारेका छन् । अहिले साफ च्याम्पियनसिपमा नेपाललाई उपाधि दाबेदारका रूपमा हेरिएको छ । साफ च्याम्पियनसिपको तयारीस्वरूप रहेको हिरो गोल्डकपको उपविजेता भएपछि नेपाली महिला फुटबल टोलीको छवि नै फरक भएको छ ।

शुक्रबार फाइनलमा म्यानमारसँग ३-१ ले पराजित भएको नेपाल उपविजेता हुँदै घर फर्किएको छ । प्रतियोगितामा भारतलाई उसकै भूमिमा २-१ हराउनु नै पहिलो ऐतिहासिक सफलता रह्यो । अहिलेसम्म पुरुष टोलीले समेत हात पार्न नसकेको सफलता महिलाले चुमे । भारतमाथिको ऐतिहासिक जितमा सावित्रा भण्डारीले महत्वपूर्ण दुई गोल गरेकी थिइन् । उनले प्रतियोगितामा सर्वाधिक ४ गोल गरिन् । भारतमा रहेकी स्ट्राइकर सावित्राले भारतलाई हराउँदाको खुसी साँच्चीकै अभूतपूर्व रहेको बताइन् । सावित्राले भनिन्, ‘निरन्तर भारतविरुद्धको हारको शृंखला अन्त्य भएसँगै अब नेपाली महिला फुटबलको अर्को युग सुरु भएको छ ।’

सपना सार्थक भयो
भारतविरुद्ध उत्रँदा आत्मविश्वास बलियो बनाए पनि जितप्रति ढुक्क नभएको सावित्राले बताइन् । ‘पहिलो खेलमा पराजित भएकाले दोस्रो खेलमा हामीमाथि भारतलाई हराउनुपर्ने दबाब थियो, जुन दबाबलाई हामीले एकजुट भएर चिर्‍यौँ,’ सावित्राले नयाँ पत्रिकासँग शुक्रबार भनिन् । भारतमाथिको सनसनी जित साँच्चीकै लोभलाग्दो थियो । उनी भन्छिन्, ‘हामीले भारतलाई पहिलोपटक पराजित गरेपछि यति उत्साही भयौँ, त्यसको बयान गर्ने शब्द मसँग छैन, होटेलमा देश भक्तिका गीत गाएर खुसी एकआपसमा साट्यौँ, त्यो क्षण उपाधि जितेको जस्तै थियो ।’ नेपालको उपाधि यात्रामा भारत बाधक बन्ने गरेको छ । त्यो इतिहास नजिकबाट नियाल्नेमध्ये सावित्रा पनि पर्छिन् ।

यसपटक हिरो गोल्डकपमा पुरानै नतिजा आउने डर नेपाली टोलीमा थियो । तर, नेपाली खेलाडीले मनभित्रको डर अन्त्य गर्न सफल भएको उनले बताइन् । ‘भारतलाई हराउनै नसकिने हो कि भन्ने डर अन्त्य गर्न सफल भयौँ र हामीले भारतलाई हराउने सपना पूरा गर्‍यौँ,’ उनले भनिन् । त्यसो त सावित्राको इच्छा भारतलाई हराउने मात्र होइन, साफ च्याम्पियनसिप जित्ने पनि हो । ‘सम्पूर्ण नेपालीलाई खुसी दिलाउन साफ च्याम्पियनसिप उपाधि जित्दै नयाँ इतिहास बनाउने ठूलो जिम्मेवारी हाम्रै हो,’ उनले भनिन् ।

हिरो गोल्डकपको दोस्रो खेलमा भारतलाई उसैको घरेलु मैदानमा २–१ ले हराएपछि नेपाली महिला टोलीले उपाधि जितेसरह होटेलमा खुसियाली मनायो । शुक्रबार फाइनलमा म्यानमारसँग ३–१ ले पराजित भएको नेपाल उपविजेता हुँदै घर फर्र्किएको छ । प्रतियोगितामा भारतलाई उसकै भूमिमा २–१ हराउनु नै पहिलो ऐतिहासिक सफलता रह्यो ।

मौनतामा मैदान प्रवेश
भारतसँगको प्रतिस्पर्धाअघि नेपाली टोलीभित्र एकप्रकारको आत्मविश्वास थियो । भारत सधैँ बलियो प्रतिद्वन्द्वी भएकाले नेपाली खेलाडीहरू मैदान यात्राका क्रममा मौन रूपमा बदला लिन प्रवेश गरेको सावित्राले बताइन् । ‘हामी मैदान छिर्दा मौन रूपमा एक भएर जवाफ दिनका लागि तयार थियौँ । हामी सबैको लक्ष्य एकै थियो । जसरी भए पनि यसपटक भारतलाई हराउने थियो,’ भारतसँग खेल्नुअघिको मनोविश्लेषण बताउँदै सावित्राले भनिन्, ’मैदान प्रवेशसँगै हामीले पूरै खेलमा आत्मविश्वास देखायौँ, त्यही मौनता एउटा जितका रूपमा परिणत भयो ।’

सधैँ भारतको त्रास
सावित्रा नेपाली महिला फुटबलमा मेरुदण्डकै रूपमा रहेकी छिन् । सन् २०१४ मा राष्ट्रिय टोलीबाट डेब्यु को पाँच वर्षभित्र सावित्राले अन्तर्राष्ट्रिय फुटबलमा नेपालबाट सर्वाधिक गोल गर्ने अनु लामाको रेकडमाथि चुनौती दिने अवस्थामा आफूलाई उभ्याएकी छिन् । नेपाली टोलीमा अवसर पाएपछि उनले पछि फकेर हेर्नु परेको छैन । सावित्रा जस्तै अन्यलाई पनि भारतलाई कहिले हराउन पाइएला भन्ने भोक जहिले नै थियो ।

त्यही भोकभित्र नै सावित्राको आत्मविश्वास थियो । ‘मलाई भारतलाई हराउन सक्छौँ भन्ने आत्मविश्वास थियो । जुन आत्मविश्वास र हामीले गरेको कडा मिहेनतको परिणाम नै यो सफलता प्राप्त भयो,’ उनले भनिन् । भारतसँग निरन्तर फाइनलमा भोगेको हारको बदला लिने यसपटक भन्दा राम्रो अवसर अरू वेला थिएन । किनभने, भारतीय भूमिमा उसैलाई हराउने अवसर नेपाली टोलीलाई जुरेको थियो । ‘हिरो गोल्डकपमा नेपाली महिला टोलीले जे गर्‍यो, नेपाली महिला फुटबललाई नयाँ चरणमा पुर्‍याएको छ,’ उनले भनिन्, ‘अहिले हामीले देशमा महिला फुटबललाई नयाँ शिराबाट उठाएका छौँ ।’

डरैडरले भरिएको यात्रा
गोल्डकपका लागि अभ्यास जारी थियो । साफ च्याम्पियनसिपमा नेपालमा हुने खबरसँगै उपाधि नै घरबाहिर नपठाउने संकल्प नेपाली महिला टोलीले लिएको छ । तर, नेपालले जति अभ्यास गर्‍यो, त्यो पर्याप्त मानिए पनि अन्तर्राष्ट्रिय एक्सपोजको खोजिमा रहेको थियो । थाइल्यान्डसँग अभ्यास खेलका लागि औपचारिक पत्र पठाएको नेपालले थाइल्यान्डको जवाफ कुरिरहेको थियो ।

यसैबीच भारतले ओलम्पिक छनोट र साफ च्याम्पियनसिपलाई ध्यानमा राख्दै घरेलु मैदानमा ‘हिरो गोल्डकप महिला फुटबल’को आयोजना गर्‍यो । र, नेपाल पनि त्यसको पाटो बन्न पुग्यो । सावित्रा भन्छिन्, ‘हाम्रा लागि भारत यात्रा एकप्रकारको डरैडरले भरिएको उत्सुक्ताको बाटो थियो । त्यहाँ नेपालभन्दा उच्च वरीयतामा रहेका राष्ट्रविरुद्ध प्रदर्शनको मौका थियो, सो मौकालाई अवसर बनाउनुपर्ने चुनौती पनि सँगै थियो ।’

व्यक्तिगत सफलता पनि
सावित्राले हिरो गोल्डकपमा अर्को फरक पक्ष महसुस गरिन् । गोल्डकपकै क्रममा उनले सहभागी राष्ट्रका खेलाडी र प्रशिक्षकसँग चिनजानको मौका पाइन् । यस किसिमको वातावरणलाई खेलाडीले नयाँ अवसरका रूपमा लिने गर्छन् । ‘हाम्रो प्रदर्शनपछि भारत र म्यानमारका प्रशिक्षकहरूले पनि बधाई दिनुभयो,’ उनले भनिन्, ‘अहिले नै अन्तर्राष्ट्रिय लिगमा नेपाली महिला फुटबलरको अनुबन्धनको कुरा मैले सोचेकी छैन तर हाम्रो क्षमता त्यही स्तरको छ ।’ उनले कुनै पनि अन्तर्राष्ट्रिय लिगमा अवसर पाए आफूले सहभागिता जनाउने बताइन् । ‘अन्तर्राष्ट्रिय लिगको एक्सपोज पाउँदा कसले अस्वीकार गर्ला । यस्तो अवसर पाउँदा सबैले मौका दिन्छन् । प्रशिक्षक, एन्फा सबैले सहयोग नै गर्छन्,’ उनले भनिन् ।

महिला फुटबलमा पनि सम्भावना
यसअघि नेपाली महिला फुटबलको दायरा साँघुरो भएको सावित्राको अनुभव छ । उनी भन्छिन्, ‘नेपालमा समग्र खेलको अवस्था नै दयनीय रहेको थियो । त्यस्तोमा महिला फुटबलत झनै पछि थियो । तर, अब अवस्था फेरिएको छ । बिस्तारै महिला फुटबलमा पनि सम्भावनाको खोजी हुन थालेको छ ।’

उनले बाल्यकालदेखिकै आफ्नो फुटबलर बन्ने सपनाले सार्थकता पाउँदा उत्साही भएको बताइन् । ‘मैले अहिलेको सफलताका लागि कति मिहेनत र पसिना बगाएकी छु । तर, त्यसका लागि मैले एक्लैले गरेको प्रयास मात्रै पनि सार्थक हुन्न । धेरैले आफ्नो ठाउँबाट गर्नु भएको सहयोग अविष्मरणीय छ,’ उनी थप्छिन्, ‘तर अब नेपाली महिला फुटबल बिस्तारै धेरै प्रतियोगिता खेल्न सक्ने भएको छ । आगमी पुस्ताले पनि अब महिला फुटबलमा लगाब राख्ने समय सुरु भएको छ ।’

प्रकाशित मिति: Feb 16, 2019

प्रतिक्रिया दिनुहोस्