Logo
७ बैशाख २०८१, शुक्रबार
(February 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दिगो विकासका लागि अन्तर्राष्ट्रिय समुदायबाट सहयोग जुटाउने योजनामा सरकार

काठमाडौं : सरकारले दिगो विकास लक्ष्य हासिलका लागि आवश्यक बजेट अन्तराष्ट्रिय समुदायबाट जुटाउने योजना बनाएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिवद्धता पूरा गर्न सरकारले अन्तर्राष्ट्रिय समुदायसँग आवश्यक बजेट जुटाउने योजना बनाएको जानकारी दिए ।

शुक्रबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले दिगो विकास लक्ष्य हासिल गर्न प्रदेश र स्थानीय तहमा अभियाननै संचालन गर्न लागिएको पनि बताए । उपाध्यक्ष कँडेलले प्रदेश र स्थानीय तहमा दिगो विकास लक्ष्य हासिल गर्नका लागि सोचकै अभाव रहेको उल्लेख गर्दै ती समस्या समाधान गरेर अघि बढने गरी बजेटसहितको योजना तय गर्ने पनि बताए ।

यता, समितिका सदस्यहरुले भने दिगो विकास लक्ष्य हासिल हुने गरी अघि नबढेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । समितिकी सदस्य प्रमिला कुमारीले दिगो विकास लक्ष्य हासिल हुने गरी योजना बनाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरिन् । उनले सामाजिक विभेदको समेत अन्त्य गर्न नसकेको मुलुकले कसरी सन् २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्न सक्न पनि प्रश्न पनि गरिन् ।

समितिका अर्का सदस्य दिनानाथ शर्माले दिगो विकास लक्ष्य हासिल हुने गरी सन्तुलित र समान अवसरसहितको विकास योजना अघि बढाउन सरकारसँग माग गरे । उनले मुलुकमा सबै क्षेत्रको विकासमा समान अवसर स्थापना गर्न राजनीतिक परिवर्तन भएको उल्लेख गर्दै सोही मर्म अनुसार सरकारले काम गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए । समितिका सदस्यहरुले दिगो विकास हासिल गर्ने सरकारको तयारीका विषयमा पनि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. कँडेलसँग विभिन्न जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति: Feb 15, 2019

प्रतिक्रिया दिनुहोस्