Logo
८ बैशाख २०८१, शनिबार
(February 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रालयद्वारा सुदूरपश्चिमका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

बैतडी : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैतडीसहित सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित गाउँसभा तथा नगरसभाबाट सिफारिस एवं प्रदेशमार्फत सिफारिस बमोजिम सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा, डोटी र बाजुराका विभिन्न स्थानीय तहका नाम र केन्द्र परिवर्तन गरिएको हो ।

सुदूरपश्चिमका सात वटा स्थानीय तहको केन्द्र, दुई तहको नाम र केन्द्र तथा तीन तहको नाम मात्रै परिवर्तन गरिएको मन्त्रालयले जनाएको छ । बैतडीको सिगास गाउँपालिकाको केन्द्र साविकको शिवलिंग गाविसको गर्जे कायम गरिएको छ । यसअघि उक्त गाउँपालिकाको केन्द्र गर्जे अथवा गाँजरी राख्ने भन्ने निर्णय भएको थिएन । गर्जे सबैको पायक पर्ने र मध्य भागमा रहेकोले त्यहाँ केन्द्र राख्ने निर्णय गरेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए ।

दार्चुलाको नौगाड गाउँपालिकाको केन्द्र धुलिगडाबाट सारेर होपरीगाड र लेकम गाउँपालिकाको केन्द्र रातामाटा ताकिएको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिकाको केन्द्र सल्ला–बान्चौर कायम गरिएकोे छ । यस्तै, बझाङको काँडा गाउँपालिकाको नाम साइपाल, डोटीको वोगटान गा‍उँपालिकाको नाम वोगटान–फुड्सिल, सायल गाउँपालिकाको केन्द्र ओमनगर राखिएको छ ।

बाजुराको पाण्डवगुफा गाउँपालिकाको नाम जगन्नाथ र केन्द्र जुड्डि, स्वामीकार्तिक गाउँपालिकाको नाम स्वामीकार्तिक खापर र केन्द्र वाई, छेदेदह गाउँपालिकाको नाम खप्तड छेदेदह गाउँपालिका कायम गरिएको छ । हिमाली गाउँपालिकाको केन्द्र बाँधु धुलाचौर तोकिएको छ । संघीय सरकारअन्तर्गतको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार देशका ९८ वटा स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको हो ।

प्रकाशित मिति: Feb 15, 2019

प्रतिक्रिया दिनुहोस्