Logo
७ बैशाख २०८१, शुक्रबार
(February 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विवेकशील साझाले प्रधानमन्त्रीलाई दिए बधाई, आलोचनालाई सकारात्मकरूपमा लिन सुझाव

काठमाण्डौं : सरकारले एक वर्षको कार्यकाल पुरा गरेकोमा विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी ओलीलाई बधाई दिएको छ। अस्थिर सरकारको चपेटाबाट मुलुक गुज्रिएको विगतको परिप्रेक्षमा वर्तमान सरकारले एक वर्षको कार्यकाल पुरा गरेकोमा सो पार्टीले बधाई दिईएको हो ।

दुई-तिहाईको ऐतिहासिक शक्ति बोकेको सरकार हुँदाहुँदै पनि सरकारको काम–कारवाही पीडादायी ढंगबाट निराशाजनक देखिएकोमा पार्टीले चिन्तित व्यक्त गरेको छ । पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचार चुलिंदो छ। दण्डहीनताले प्रश्रय पाईरहेको छ। अर्थतन्त्रका प्रमुख सूचकहरुको संकेत नकारात्मक छन्। निजी क्षेत्र र लगानीकर्तामा उत्साह छैन। विकास र पूर्वाधार निर्माणमा अलमल र चरम नैराश्य छ।’

समाजवाद-उन्मुख भनिएको राज्य विपन्न र गरिव जनताको झुपडीमा पुग्ने कुनै संकेत नदेखिएको आरोप पार्टीले लगाएको छ । ‘समग्रमा भन्नु पर्दा विकास र संवृद्धिलाई मूल नारा बनाएको सरकारले सो हासिल गर्नका लागि रणनैतिक प्रस्थान बिन्दु नै पहिल्याउन सकेको छैन,’ विज्ञप्तिमा भनिएको छ । त्यस्तै, लोकतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रता खुम्च्याउने गरी कानून निर्माण हुँदै गरेको प्रति पार्टीले चिन्ता व्यक्त गरेको छ।

वैदेशिक सम्बन्धलाई राष्ट्रहितमा डोर्याउन आवश्यक कुटनैतिक चातुर्यतामा सरकार पटक-पटक चुकेको बताउँदै हाम्रो मौलिक संस्कृति र राष्ट्रिय स्वाभिमानप्रति समेत सरकारको असंवेदनशीलता बेलाबखतमा प्रकट हुनु खेदजनक भएको पार्टीको ठहर छ । विगत एक वर्षको गंभिर समीक्षा गरी अगाडिको बाटो तय गर्नका लागि विवेकशील साझा पार्टी सरकारलाई आग्रह गर्दै पार्टीले भनेको छ, ‘यो घडीमा सरकारका कामकारवाहीप्रति आलोचनात्मक भएर प्रधानमन्त्री स्वयंले अशोभनीय भाषा प्रयोग गर्दै असहिष्णु हुनु भन्दा आलोचनालाई सकारात्मकरूपमा ग्रहण गरी आम जनताको मन जित्ने कार्यशैली अपनाउन हामी सरकारलाई सुझाव दिन चाहन्छौं।’

प्रकाशित मिति: Feb 15, 2019

प्रतिक्रिया दिनुहोस्