Logo
७ बैशाख २०८१, शुक्रबार
(February 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ मा पानी मिसाएर डिजेल बेचिदै, विरगञ्जको एक पेट्रोल पम्प शिलबन्दी

पर्सा : पानी मिसाएर डिजेल बेचेको उजरीपछि प्रदेश २ स्थित पर्साको वीरगञ्ज स्थित एक पेट्रोल पम्प शिल गरिएको छ । वीरगञ्ज महानगरपालिका १४ पिपरास्थित बोलबम पेट्रोल पम्पमा जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा गएको टोलीले शिलबन्दी गरेको हो ।

पानी मिसिएको डिजलका कारण दुईवटा गाडीको इन्जिन सिज भएको खबर भएपछि प्रहरीसहितको टोली पेट्रोल पम्पमा पुगेको थियो । मनोज गुप्ता सञ्चालक रहेको पेट्रोल पम्पमा ना १ क ९०५१ नम्बरको टेलर र बा २० च ७४४८ नम्बरको कारका चालकले डिजेल भरेर पाँच सय मिटर यात्रा गर्दा इन्जिन सिज भएको थियो ।

सवारीधनीले प्रहरीलाई खबर गरे लगत्तै प्रहरी प्रशासनसहितको टोली पुगेर पेट्रोल पम्पका स्थलगत निरीक्षण गरेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख, प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बोलबम पेट्रोल पम्पबाट डिजल भरेर गन्तव्यमा जाँदै गरेका सवारीमा समस्या आएको गुनासो आएपछि पेट्रल पम्पको अनुगमन गर्नुको साथै नमूना परीक्षणका लागि स्याम्पल लिएको बताए ।

उनले तीनवटा बोत्तलमा नमूना परीक्षणका लागि डिजेल लिएर एउटा आयल निगमको ल्याबमा, अर्को गुणस्तर तथा नापतौल विभाग र एउटा जिल्ला प्रशासन कार्यालयमा सुरक्षित राखेको जानकारी दिए ।

नमुना परीक्षण नतिजा नआएसम्म उक्त पेट्रोल पम्पबाट ईन्धन बेचविखन गर्न नदिन शिल गरेको जिल्ला अधिकारी शर्माको भनाई छ ।

प्रकाशित मिति: Feb 14, 2019

प्रतिक्रिया दिनुहोस्