Logo
१२ बैशाख २०८१, बुधबार
(February 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ऋचा शर्मा र सुरक्षा पन्तकाे हातबाट निश्चलको ‘फर्गो’

काठमाडौं : अभिनेत्रीहरू ऋचा शर्मा र सुरक्षा पन्तले यो साता नयाँ अंग्रेजी उपन्यास फर्गो पढे । यही उपन्यासलाई यी दुई अभिनेत्रीले मंगलबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गर्दै उपन्यासभित्रका रोचक घटना सुनाए । मंगलबार अभिनेत्री जोडी ऋचा, सुरक्षासँगै आख्यानकार सुविन भट्टराई, पुस्तकका लेखक निश्चल मल्ल र इक्यानका अध्यक्ष विष्णुहरि पाण्डले पुस्तक संयुक्त लोकार्पण गरे ।

अभिनेत्री सुरक्षाले पनि उपन्यासले आफ्नो मन जितेको बताइन्, ‘लेख्ने मान्छे मलाई विशेष लाग्छन् । अझ यति सानो उमेरमै लेख्ने त झनै विशेष लाग्छन् ।’ पुस्तक रोचक र मिठास भएको उनले बताइन् । अभिनेत्री ऋचाले कार्यक्रममा बोल्दै लेख्ने मान्छेप्रति आफ्नो मनमा श्रद्धा रहेको बताइन् । कम उमेरमै स्तरीय किताब निकालेर निश्चलले प्रसंसनीय कार्य गरेको उनको कथन थियो, ‘उन्नाईस/बीस वर्षकै उमेरमा यतिको किताब लेख्नु साँच्चिकै प्रशंसनीय काम हो ।

तर, उमेर कम भए पनि किताबमा मैले परिपक्वता देखें,’ ऋचाले भनिन्, ‘यथार्थ र कल्पनाशीलतालाई लेखक मल्लले मज्जाले प्रस्तुत गरेका छन् । यसको भाषा मलाई मन परेको अर्को पक्ष हो । पुस्तक पढिरहँदा मलाई धेरै ठाउँ सेक्सपियरको साहित्य पढेको आभास भयो ।’ उपन्यासकार निश्चल मल्लले पुस्तकबारे भने, ‘रोमान्स र रहस्यको समिश्रण भएको योे पुस्तकले नयाँ पुस्ताका प्रेमप्रतिको सोचलाई प्रस्तुत गर्नेछ । पुस्तकले यथार्थभन्दा पर गएर कल्पनामा आफूले सोचेजस्तो जीवन सिर्जना गर्ने युवाको कथा पेस गरेको छ ।’

अर्का लेखक सुविन भट्टराईले यसपटकको भ्यालेन्टाइनमा आफ्नो डेटलाई यो दिनका लागि यो उपन्यास राम्रो उपहार हुने बताए । निश्चललाई देखेर आफ्ना पुराना दिन याद आएको भन्दै सुविनले अभिभावकत्व प्रदान गर्न आफू कार्यक्रममा आएको प्रस्ट्याए । पुस्तकलाई बुक हिलले प्रकाशन गरेको हो । लेखक निश्चलको यो पहिलो पुस्तक हो । पुस्तक १०४ पृष्ठको रहेको छ ।

प्रकाशित मिति: Feb 13, 2019

प्रतिक्रिया दिनुहोस्