Logo
१३ बैशाख २०८१, बिहीबार
(February 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजधानी र नामाकरणको सिफारिस गर्न बनेको विशेष समितिका सदस्यनै फेरबदल

खस्यौली : प्रदेश नं ५ को स्थायी राजधानी र नामाकरणको सिफारिस गर्न बनेको विशेष समितिका सदस्यको फेरबदल भएको छ । प्रदेशसभाको आज बसेको बैठकले रुपन्देहीका अष्टभुजा पाठकको ठाउँमा नवलपरासीका बैजनाथ कलवार, अर्घाखाँचीका चेतनारायण आर्चायको ठाउँमा बाँकेको बाबुराम गौतम र बर्दियाको दिपेश थारूको ठाउँमा रुकुुमका तेजप्रसाद ओली समितिको सदस्य भएका छन् ।

१५ सदस्यीय सो समितिले तीन महीनाभित्र प्रदेशको स्थायी राजधानी र नामाकरण सिफारिस गर्ने भनिए पनि करीब ५ महीनाको समय बितेको छ । प्रदेश नं ५ को स्थायी राजधानी र नामाकरणको सिफारिस गर्न बनेको विशेष समितिको नाम हेरफेरको विषयलाई लिएर केही दिनअघि नेपाली काङ्ग्रेसले प्रदेशसभाको बैठक सञ्चालन गर्न अवरोध खडा गरेको थियो ।

त्यस्तै प्रदेश नं ५, खानी अन्वेषण र व्यवस्थापनसम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ । छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य नारायणप्रसाद आर्चायले उत्खनन क्षेत्रमा जटिलता भएको उल्लेख गर्दै वातावरणीय पक्षलाई ध्यान दिएर खानी उत्खनन गर्न आग्रह गरे । अर्का सदस्य डिल्ली चौधरीले उत्खनन गर्दा पानीको स्रोतलाई बचाउनुपर्नेमा जोड दिँदै खानी उत्खनन गर्दा पहिलो प्रयोगकर्ता स्थानीय हुनपर्ने बताए ।

प्रदेशसभाका सदस्यले उठाएको प्रश्नको जवाफ दिँदै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले पानीको मुहान संरक्षण गर्ने बताए । यस्तै प्रदेश नं ५ जाँचबुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश मामिला तथा कानून समितिका सभापति दामाकुमारी शर्माले र प्रदेश नं ५, तथ्याङ्क सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रस्तुत गर्नुभएको सो विधेयक थप छलफलका लागि अर्थ, उद्योग, पर्यटन समितिमा पठाइएको छ ।

प्रकाशित मिति: Feb 12, 2019

प्रतिक्रिया दिनुहोस्