Logo
१२ बैशाख २०८१, बुधबार
(February 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्री राउतकाे जवाफ : कांग्रेसले भन्दैमा वीपी उद्यानमा शहीद पार्क बनाउने निर्णय परिवर्तन हुँदैन

काठमाडौँ : प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबावु राउतले वीरगञ्जमा शहीद पार्क बनाउने निर्णय परिवर्तन नहुने बताएका छन् । कांग्रेसले वीरगञ्जस्थित वीपी उद्यानमा शहीद पार्क बनाउने निर्णय तत्काल फिर्ता नलिए आन्दोलन चर्काउने चेतावनी दिएका बेला मुख्यमन्त्री राउतले शहीद पार्क बनाउने निर्णय कुनै हालतमा परिवर्तन नहुने बताए ।

उनले सबै प्रक्रिया पूरा गरेर शहीद पार्क बनाउने निर्णय भएकोले त्यसमा अनावश्यक विरोध जनाइरहन आवश्यक नरहेको बताए । ‘वीरगञ्ज मधेस आन्दोलनको केन्द्रविन्दु हो, यहाँ कैयौँ शहीद भएका छन् उनीहरुको स्मृतिमा शहीद पार्क बनाउने निर्णय भएको छ यो परिवर्तन हुँदैन’ उनले भने ।

आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वीरगञ्जमा वीपी उद्यान निर्माण गर्ने भनि छुट्याइएको जग्गामा प्रदेश २ सरकारले शहीद स्मृति पार्क बनाउन लागेकोप्रति आपत्ति जनाउँदै यो निर्णय सच्च्याउन माग गरेका थिए ।

२०६० साल कात्तिकमा तत्कालिन श्रम तथा यातायात मन्त्री डा. प्रकाशचन्द्र लोहनीबाट वीपी उद्यानको शिलान्यास गरिसकेकोले अहिले आएर अर्कै नाममा पार्क बनाउन खोज्नु आपत्तिजनक भएको कांग्रेसले जनाएको छ ।

प्रवक्ता शर्माले पत्रकार सम्मेलनमार्फत निर्णय तत्काल नसच्याए कांग्रेस कडा रुपमा उत्रिने चेतावनी दिएका थिए । तर मुख्यमन्त्री राउतले शहीद पार्क निमार्ण गर्ने निर्णय फेरबदल नहुने अडान दोहो¥याउदै भने, ‘वीपी कोइरालाका नाममा वीपी उद्यान बनाउने निर्णय भएको दाबी गर्ने कांग्रेसले १५ वर्षसम्म उक्त ठाउँमा कति इटा थप्यो? अहिले हामीले काम गर्छाैँ भन्दा रोक्न खोज्ने ?’ हाल उक्त जग्गा वीरगञ्ज महानगरपालिकाको स्वामित्वमा छ ।

प्रकाशित मिति: Feb 11, 2019

प्रतिक्रिया दिनुहोस्