Logo
८ बैशाख २०८१, शनिबार
(February 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ प्रदेशसभा गठन भएको एक वर्ष एक साता पूरा, १७ विधेयक पास, सात छलफलमा

जनकपुरधाम : प्रदेश २ प्रदेशसभा गठन भएको एक वर्ष एक साता पूरा भएको छ । प्रदेशसभाले यसअवधिमा १७ वटा विधेयक पास गरेको छ । यस्तै, सात वटा छलफल छ भने तीनवटा विधेयक छलफलका लागि दर्ता भएको छ ।

प्रदेशसभाले गत आर्थिक वर्ष प्रदेश आर्थिक कार्यविधि विधेयक, मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाको शर्तसम्बन्धी कानुनी व्यवस्था गर्न बनेको विधेयक र प्रदेशका सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिको व्यवस्था गर्न पास गरेको छ । यसैगरी, स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश विनियोजन विधेयक, मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, गाउँ, नगर र जिल्लासभा सञ्चालन कार्यविधि विधेयक पारित गरेको छ ।

चालू आर्थिक वर्षको यस अवधिमा छ वटा विधेयक पास भएको छ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापन, प्रदेश प्रहरी सेवासम्बन्धी, विपद् व्यवस्थापनसम्बन्धी, आकस्मिक कोष सञ्चालन, सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्नासम्बन्धी र प्रशासकीय कार्यविधि पारित भएका छन् । त्यसैगरी मदरसा शिक्षा बोर्ड गठन, गाउँसभा र नगरसभाको कानुन निर्माण प्रक्रिया, संसदको समितिमा थप सात वटा विधेयक छलफलको क्रममा रहेका प्रदेशसभा सचिवालयका उपसचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

थप तीन वटा विधेयक प्रदेश लोक सेवा आयोगको काम, कर्तव्य, अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश दुग्ध विकास बोर्डको स्थापना गर्न बनेको विधेयक र बालबालिकाको हक अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता भएको छ । २०७५ जेठ ३ गते सम्म संसदको पहिलो अधिवेशनमा २६ वटा बैठक बसेका थियो । दोस्रो अधिवेशनका ४६ वटा बैठक बसेको छ र हाल दोश्रो अधिवेशन जारी नै रहेको छ ।

प्रकाशित मिति: Feb 11, 2019

प्रतिक्रिया दिनुहोस्