Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी मेडिकल कलेज : विद्यार्थीले थाले रिले अनसन, ओपिडी र कक्षाकोठामा तालाबन्दी

पोखरा : ४ पटकसम्म अस्पताल प्रशासन र आन्दोलनरत विद्यार्थी पक्षबीच वार्ता पनि गण्डकी मेडिकल कलेजका विद्यार्थी १० दिनदेखि आन्दोलनमै छन् भने ओपिडीमा र कक्षाकोठामा तालाबन्दी छ । सरकारले तोकेको शुल्कमा पढ्न पाउनुपर्ने, बढी लिइएको शुल्क तत्काल फिर्ता गर्नुपर्ने माग नसुनेपनि मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले रिले अनसन सुरु गरेका छन् ।

प्रशासनले वार्तामा बोलाउने तर, सहमति बिनै झुलाइरहेको आरोप लगाउँदै विद्यार्थीले रिले अनसन सुरु गरेका हुन् । ‘हामीले मागेका माग पूरा गर्नतिर लाग्छौं भन्नुहुन्छ । बढी लिएको शुल्क र बिल माग्दा फिर्ता हुँदैन, अब कार्यान्वयन गर्छौं भन्नुहुन्छ, आन्दोलनरत विद्यार्थी प्रवीण गौतमले भने ।

कलेजको प्रशासनबाट फोन गरेर आन्दोलन छोड्न धम्की दिने गरेको समेत विद्यार्थीको गुनासो छ । सन् २०१५ देखियताका ब्याचका विद्यार्थी बढी शुल्क लिएको भन्दै विरोधमा उत्रिएका हुन् । विद्यार्थीले यस्तै आन्दोलन यसअघि पनि गरेका थिए । यसअघि बढी लिएको शुल्क फिर्ता गर्ने लगायत सहमतिमा आन्दोलन सकिएको थियो । सहमतिबेगर उल्टै अतिरिक्त शुल्क लिने र बिल पनि नदिने गर्ने काम भइरहेकाले फेरि आन्दोलनमा उत्रनुपरेको विद्यार्थी रविना मिश्रले बताइन् ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त शैक्षिक संस्थामा संस्थानले तोकेबाहेक कुनै पनि शीर्षकमा अतिरिक्त शुल्क लिन नपाइने नियम छ । तर, विद्यार्थीपिच्छे नियम बनाएर रकम असुलेको आरोप छ । ‘सरकारले तोकेभन्दा धेरै पैसा नलिनुस् भन्ने हाम्रो माग हो,’ परिर्वतन भाटले भने ।कलेजले धेरै पैसा लिएको विरोधमा गत बिहीबारदेखि विद्यार्थीले कक्षाकोठामा ताला लगाएका थिए ।

कलेजको प्रशासनमा समेत ताला लगाएर शुक्रबार पृथ्वीचोकमा प्रदर्शनसमेत गरेका थिए । विद्यार्थीले जिल्ला प्रशासन कार्यालय कास्की, गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा समेत ज्ञापनपत्र बुझाएका छन् । विश्वविद्यालय डिन अफिस र जिल्ला प्रशासन कार्यालयले विद्यार्थीको माग सम्बोधन गर्न अस्पतालाई चिठी लेखिसकेको भए पनि वास्ता नगरेको विद्यार्थीको आरोप छ ।

प्रकाशित मिति: Feb 10, 2019

प्रतिक्रिया दिनुहोस्