Logo
७ बैशाख २०८१, शुक्रबार
(February 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मनग्य आम्दानी हुने भएपछि थारु युवाको रोजाइमा डकर्मी पेशा

कञ्चनपुर :  घर निर्माण गर्ने सीप सिकेर दक्ष बनेका यहाँका थारु युवाको रोजाइमा डकर्मी पेशा परेको छ ।

मनग्य आम्दानी हुने भएपछि थारु युवाको रोजाईमा सो पेशा परेको हो । घर निर्माण लगायतका कार्य थारु युवाले गर्न थालेपछि भारतीय डकर्मी समेत विस्थापनमा परेका छन् । डकर्मी पेशाका लागि सीप भए पुग्ने भएकाले अधिकांश थारु युवाले उक्त पेशा अपनाएका छन् ।

डकर्मी सीप सिकेका युवाले मासिक रुपमा रु २० हजारदेखि रु ३० हजारसम्म आम्दानी गर्दै आएका छन् । घर, शौचालय, विद्यालय र स्वास्थ्य चौकी भवन निर्माणमा सीप भएका युवाले रोजगारी पाउने गरेका छन् । डकर्मी पेशामा संलग्न खुशिराम चौधरीले चाहेको जस्तो आम्दानी हुने भएकाले उक्त पेशा रोजेको बताए ।

८ बर्षदेखि डकर्मीको कार्य गर्दै आएका उनले घर बनाउनका लागि ठेक्का लिएर मासिक रुपमा रु ३० हजार बढी कमाई गर्दै आएका छन् । झुपडीमा बस्दै आएका चौधरीले डकर्मी पेशाको कमाइले हाल घर घरेडी जोडेका छन् । “साँझ विहानको छाक टार्नका लागि विगतमा मुस्किलले पुग्दथ्यो, हाल घर खर्च सबै राखेर बैंकमा बचत गर्दैछौं”, उनले भने ।
घरमै बेरोजगार रहेका युवा डकर्मी सम्बन्धी सीप सिक्नका लागि पहिला मजदुर बनेर कार्य गर्ने र विस्तारै निपूर्ण बन्ने गरेका छन् । परिवारसँगै बसेर कार्य गरी चाहिने पैसाको जोहो डकर्मी पेशाले धानिँदै आएकाले सन्तुष्ट रहेको विरबहादुर चौधरीले बताए ।

अन्य समुदायका युवा बढी कमाउने लोभमा बैदेशिक रोजगारीमा जाने गरेका भए पनि थारु समुदायका अधिकांशले डकर्मी पेशालाई अपनाएको थारु अगुवा दानसिं दहितले जानकारी दिए । “स्वदेशमै काम गरेर विदेश गएका भन्दा बढी कमाई हुने भएकाले थारु युवाहरु मध्ये केही मात्रै विदेश गएका छन्”, उनले भने । स्वदेशमै मिहिनेत र लगन साथ कार्य गरे विदेश जानु नपर्ने अर्का डकर्मी पेशामा संलग्न हरिकृष्ण चौधरीले बताए । दैनिक रु १ हजारमा ज्यालादारीमा काम गर्दै उनले सो पेशाको कमाइले पानी तान्ने विद्युतीय मोटर, पक्कि घर, शौचालय र मोटरसाइकल जोडेका छन् । मेहनत बढी लाग्ने भए पनि कमाइ मेहनत अनुसारकै हुने भएकाले पेशालाई निरन्तरता दिँदै आएको उनको भनाइ छ ।

डकर्मी युवासँगै ज्यामीका रुपमा काम गर्दै आएका थारु युवाती पनि घर निर्माण गर्ने सीप सिकेर दक्ष डकर्मी बनेका छन् । घर निर्माणको कार्यमा संलग्न संगीता चौधरीले डकर्मीको कार्य गरेर मासिक रु २५ हजार बढी आम्दानी हुने गरेको बताए। सो समुदायका जिल्लामा झण्डै ४ हजार थारु युवा युवती डकर्मी पेशामा संलग्न छन् ।

प्रकाशित मिति: Feb 10, 2019

प्रतिक्रिया दिनुहोस्