Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा सम्पन्न भएको ७ सय ५ वर्ष पछि विश्वकै दोस्रो ठुलो महायज्ञ नेपालको प्रदेश १ मा हुँदै

प्रदेश नम्बर १ स्थित सुनसरीको चतरामा आइतबारबाट श्रीराम तारक ब्रह्म महायज्ञ आयोजना हुँदैछ । नेपालको इतिहासमा पहिलो पटक मानिएको श्रीराम तारक ब्रह्म महायज्ञ ७ सय ५ वर्ष पहिला भारतमा सम्पन्न भएपश्चात् विश्वकै दोस्रो ठुलो महायज्ञ हुने भएको बताइएको छ ।

महायज्ञको सम्पूर्ण तयारी पुरा भैसकेको छ । सुनसरीको चतरा धाममा आयोजना हुन लागेको महायज्ञको उद्घाटन भने भोलि दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ ।

महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान, जगद्गुरु श्रीरामानन्दाचार्य सेवा पीठको आयोजनामा हुन लागेको महायज्ञको भोलि दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

भारतमा आर्थिक हिसाबले ठुलो महायज्ञ भए तापनि विज्ञानसम्वत र अनुष्ठानका हिसाबले चतरामा आयोजना हुन लागेको महायज्ञलाई बृहत् रूप दिन लागिएको सिद्धबाबा डा. कृष्णदासजी महाराजले जानकारी दिनुभएको छ ।

महायज्ञकालागि ९ तले मण्डप निर्माण गरिएको छ । मण्डपभित्र १ सय ८ वटा हवन कुण्ड निर्माण गरिएका छन् । महायज्ञको तयारीमा जुट्दै गर्दा गत सालको शिवरात्रीबाटनै देश र विदेशमा गरी १२ सय साधकहरुले थालेको १ अर्ब ६० करोड मन्त्रजाप सम्पन्न भैसकेको सेवा पिठले जनाएको छ ।

विश्व शान्तिको कामना सहित आयोजना गर्न लागिएको महायज्ञमा १६ करोड हवन गरिने आयोजकले जनाएको छ । महायज्ञमा आउने भक्तजनलाई लक्षित गरी साढे ८ करोड लागतमा १ सय २६ कोठा भएको तीन वटा भवन निर्माण कार्य सम्पन्न गरिएको छ ।

एक लाख भक्तजन आउने अनुमान गरिएको महायज्ञमा भारत सहित विभिन्न मुलुकबाट हिन्दु धर्म गुरु लगायतको सहभागिता रहने बताइएको छ ।

विश्वशान्तिको कामना सहित धार्मिक पर्यटनलाई जोड दिएर आयोजना हुन लागेको महायज्ञसँगै सुनसरीको चरताबाट हरित योजना समेत अघि सार्न लागिएको छ ।

प्रदेश सरकारले चतरामा आयोजना हुने महायज्ञबाटै हरित प्रदेशको अवधारणालाई अघि बढाउने जनाएको छ । स्वयं मुख्यमन्त्री शेरधन राईले समेत उक्त कुराको उद्घोष यसअघिनै गरिसक्नु भएको छ ।

खाद्यान्नमा आत्मनिर्भर प्रदेश बनाउने सोचलाई साकार तुल्याउन राष्ट्रपतिको उपस्थितिमा हरित प्रदेशको शंखनाद गर्न लागिएको जगद्गुरु श्रीरामानन्दाचार्य सेवा पिठ सुनसरीले जनाएको छ ।

माघ २६ गते उद्घाटन गरी २७ गतेबाट सञ्चालन हुने महायज्ञ फागुन ७ गते सम्म चल्ने छ । सो महायज्ञमा १२ करोड बढी खर्च हुने अनुमान गरिएको छ । महायज्ञलाई लक्षित गरी सुनसरी प्रशासनले यथेष्ट मात्रामा सुरक्षाबन्दोवस्ती समेत मिलाई सकिएको जनाएको छ ।

प्रकाशित मिति: Feb 9, 2019

प्रतिक्रिया दिनुहोस्