Logo
८ बैशाख २०८१, शनिबार
(February 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भेनेजुएला प्रकरण : ओली-प्रचण्डको २ फरक धारबीच तरंगित नेपाल-अमेरिका सम्बन्ध

काठमाडौं : भेनेजुएलाको राजनीतिक संकटको विषयलाई लिएर अमेरिकी कूटनीतिक नियोग र नेपाल सरकारबीच सम्बन्ध चिसिएको चर्चा चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राजदूत ¥यान्डी बेरीलाई भेटेर सम्बन्ध सुमधुर पार्ने प्रयास गरे ।

प्रधानमन्त्री ओलीले राजदूतलाई पार्टीकै आफ्ना अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले विज्ञप्ति निकाल्दा चिप्लिएको भन्दै राजदूत बेरीलाई मनाउन समेत खोजे ।

तर, नेकपा अध्यक्ष प्रचण्डले आफ्नो भनाइ आधिकारिक हो भनी सार्वजनिक रूपमा प्रतिक्रिया दिएपछि प्रधानमन्त्री ओलीको प्रयासले सार्थकता पाउन नसकेको देखियो ।

सरकारमा रहेको दुई पार्टी अध्यक्षबीच फरक दुई धार देखिएपछि राजनितिक वातावरण समेत तरंगित भएको छ । नेकपाका अध्यक्ष प्रचण्डले केही समयअघि भेनेजुएलामाथि अमेरिकी हस्तक्षेप हुनुहुँदैन भन्ने धारणा आएपछि उक्त विषयले तरंग ल्याएको थियो ।

नेकपा अध्यक्ष दाहालले भेनेजुएलामा जारी राजनीतिक संकटका विषयलाई लिएर विज्ञप्ति निकालेपछि अमेरिकाले सरकारसँग आफ्नो धारणा मागेको थियो ।

दाहालको विज्ञप्तिपछि अमेरिकी दूतावासले परराष्ट्र मन्त्रालयसँग सरकारको धारणा बुझ्न चाहेको थियो । दक्षिण अमेरिकी मुलुक भेनेजुएलाको राष्ट्रिय सभामा विपक्षी नेता हुवान गुवाइदोले गत बुधबार सरकारविरोधी एक प्रदर्शनका क्रममा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए ।

त्यसको केही घन्टा नबित्दै शक्ति राष्ट्र अमेरिकाले हुवानलाई राष्ट्रपतिको वैधानिकता दिएको थियो । रसिया, चीन र सिरिया आदि देशको लहरमा उभिएर नेपालले भेनेजुएलाको सम्बन्धमा अमेरिकालाई आरोपित गरेकोमा परराष्ट्र मन्त्रालयकै अधिकारीहरू पनि क्षुब्ध छन् ।

‘१७ वर्षपछि हाम्रा परराष्ट्रमन्त्री अमेरिका भ्रमण गई दुई पक्षीय हितका महत्वपूर्ण मामिलामा सम्झौता भएको थियो तर उक्त भ्रमण भएको केही समयमै भेनेजुएला काण्डले चिसोपन ल्याइदिएको छ’ परराष्ट्रका एक अधिकारीले भने ।

प्रधानमन्त्री ओली अमेरिकी राजदूतसँग सम्बन्ध विस्तारमा इच्छुक देखिए पनि अर्को अध्यक्ष प्रचण्ड भने पुन आफ्नै अडानमा अडिग छन् ।

‘कुनै पनि देशको राजनीतिक समस्या बाह्य हस्तेक्षपबिना संवैधानिक व्यवस्था र लोकतान्त्रिक मान्यताअनुसार समाधान हुनुपर्छ,’ गत मंगलबार परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अन्तत्वगत्वा भेनेजुएलाको राजनीतिक र संवैधानिक प्रक्रियाबारे निर्णय गर्ने अधिकार त्यहाँका जनतामा निहित छ ।’

सो वक्तव्यपछि राजदूत बेरीले नेपालसँग सम्बन्ध बिगार्नेभन्दा पनि सुधार गरेर जानुपर्छ भनेर आफ्नो सक्रियता केही दिनदेखि बढाएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीपछि शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेल पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटिसकेका छन् ।

यसअघि भेनेजुएलाको पक्षमा उभिएका प्रधानमन्त्री ओली केही दिनअघि अमेरिकी राजदूत बेरीसँग भेटेपछि प्रचण्डको बोली चिप्लिएको भन्दै अमेरिकाको पक्षमा उभिए । तर, अर्का अध्यक्ष प्रचण्ड भने आफ्नो अडानबाट पछि नहटेको भन्दै प्रतिक्रिया दिए । सो विषयले पुनः चर्चा पाएको त छ नै अब सरकार कसरी अगाडि बढ्छ भन्ने भोलिका दिनले देखाउनेछ ।

भेनेजुएलाको विषयलाई लिएर नेपाली राजनीति तरंगित भएको छ नै उक्त विषय झनै पेचिलो बन्दै गइरहेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले नेपालको शान्ति प्रक्रियाबारे राष्ट्रसंघ, युरोपेली युनियन र सात देशले जारी गरेको संयुक्त वक्तव्यको समेत विरोध गरेका छन् । अमेरिका सहितको राष्ट्रहरू नेपालको मामलामा हस्तक्षेप गरेको भन्दै संयुक्त वक्तत्य आएपछि बिच्किएका थिए ।

प्रधानमन्त्री र परराष्ट्रमन्त्री देशमा नभएको बेलामा यसरी वक्तव्य आउनु कूटनीतिक मर्यादाले पनि उपयुक्त नभएको दाबी कूटनीतिज्ञहरूको छ ।

के हो भेनेजुएला काण्ड ?

भेनेजुएलामा गत साता विपक्षी दलका नेता हुवाँ गुआइडोले राष्ट्रिय सभाको बैठक डाकी संविधान हातमा लिएर आफू चुनाव गराउने अन्तरिम सरकारको राष्ट्रप्रमुख बनेको घोषणा गरेका थिए ।

त्यसलाई अमेरिकाले समर्थन गरेपछि नेकपा अध्यक्ष दाहालले त्यसविरुद्ध वक्तव्य निकाल्दै जननिर्वाचित राष्ट्रपति मडुरोलाई हटाउने साम्राज्यवादी चाल भनी त्यसको भत्र्सना गरेका थिए ।

त्यतिबेला प्रधानमन्त्री ओली विश्व आर्थिक मञ्चमा भाग लिन स्विट्जरल्यान्डको डाबोसमा थिए । यता अमेरिकी दूतावासले सरकारलाई पत्र लेख्दै दाहालको धारणा व्यक्तिगत हो कि सरकारको पनि हो प्रस्ट पार्न भनेको थियो ।

त्यसको जवाफ दिँदै सरकारले भेनेजुएलाको आन्तरिक मामिला भएकाले त्यसको समाधान ‘बाह्य हस्तक्षपबाट मुक्त भएर गर्नुपर्ने’ स्पष्ट पारेको थियो भन्दै राजधानीमा खबर छ । सरकारको यो वक्तव्यप्रति अमेरिकी दूतावास असन्तुष्ट भएको कूटनीतिज्ञहरूको बुझाइ छ ।

प्रकाशित मिति: Feb 8, 2019

प्रतिक्रिया दिनुहोस्