Logo
७ बैशाख २०८१, शुक्रबार
(February 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माटोको अभावमा नहुने भयो सोचेजस्तो व्यापार, मूर्ति बनाउने काम प्रभावित

वीरगञ्ज : सरस्वती पूजाका लागि मूर्ति बनाउन माटोको अभाव हुँदा पर्साको पोखरिया नगरपालिका-९ का कालिगड शिवचन्द्र महतो यसपालि सोचेजस्तो व्यापार नहुने भएपछि चिन्तित देखिएका छन् । विगत चार वर्षदेखि मूर्ति बनाएर जीविकोपार्जन गर्दै आएका महतोले माग अत्यधिक भए पनि मूर्ति बनाउने माटोको अभावका कारण यसपालि सोचेजस्तो अत्यधिक मूर्ति बनाउन नसकिएको बताए । “पर्याप्त माटोको समस्याले मागअनुसारको सरस्वतीको मूर्ति बनाउन नसकिएको हो”, महतोले भने, “एक त माटो पाइँदैन भने अर्कोतिर माटो पाए पनि जग्गाधनीले प्रतिट्र्याक्टर रु ३०० का दरले रकम लिने गरेकाले यसपालि थोरै मूर्ति बनाएको छ ।”

“विगत वर्षमा यो समयमा मूर्ति बनाएरै लाखौँ रुपैयाँ आम्दानी गरे पनि यसपालि भने गहुँको ‘सिजन’ भएकाले राम्रो र सोचेजस्तो माटो नपाउँदा यस्तो अवस्था आएको हो”, परवानीपुरमा मूर्ति बनाइरहेका शिवलखन महतोको गुनासो छ । अहिले जिल्लाका विभिन्न ठाउँमा सडक छेउ, दलान, घरआँगनमा मूर्ति बनाउन कस्सिएका कालिगडको सङ्ख्या बढ्दै गएपछि यो व्यवसायले सोचेजस्तो आर्थिक लाभ दिन नसकेको जानकी टोलामा मूर्ति बनाइरहेका रमेश पण्डितले बताए ।

वसन्तपञ्चमी आउँदै गर्दा सामुदायिक तथा निजी बोर्डिङ स्कूलको सङ्ख्या थपिए पनि मूर्ति बनाउने कालिडसमेत बढेकाले यो व्यवसायले पहिलेजस्तो आर्थिक लाभ दिन सकेको छैन । पुरानो पुस्ताले भावना र कलाको संयोजनमार्फत काँचो माटो र पराल मिसाई ईश्वरको आकृति दिएर व्यवसाय गर्दैआएकामा युवापुस्ता वैदेशिक रोजगारमा जाने होडबाजीले अहिले यो व्यवसाय पनि प्रभावित हुँदै गएको छ । अहिलेका युवा माटो पराल छुन घिनमान्ने भएकाले पनि यो व्यवसायप्रति युवापुस्ताको आकर्षण घट्न गएको हो ।

श्रीमद्भगवत्गीता अनुसार भगवान श्रीकृष्णको जिब्रोको अग्रभागबाट माता सरस्वतीको उत्पत्ति भएको हो । सरस्वतीको सेतो वर्ण जोतिर्मय ब्रह्माको प्रतीक मानिएकाले सरस्वती बिना यो जगत्मा कसैले विद्या प्राप्त गर्न सक्दैन । शास्त्रअनुसार माता सरस्वतीकै कृपाले कालिदास, महर्षि वाल्मिकी आदिलाई कविको उपाधि प्राप्त भएको हो । यही आइतबार श्रीपचञ्मी अर्थात् सरवस्ती पूजा पर्ने भएकाले शनिबारसम्म सबै मूर्ति बिक्नुपर्ने भए पनि विगत दुई दिनयता मौसमको खराबीले घाम उदाउन नसक्दा कालिगडलाई मूर्ति सुकाउन समस्या भएको छ ।

प्रकाशित मिति: Feb 7, 2019

प्रतिक्रिया दिनुहोस्