Logo
१२ बैशाख २०८१, बुधबार
(February 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ढुवानी भाडासमेत नउठ्ने भएपछि खेतमै तरकारी जोतेर नष्ट गर्दै किसान

चितवन :  किसानले लगाएको तरकारी नबिकेपछि जोतेर नष्ट गर्ने क्रम जिल्लामा शुरु भएको छ । तरकारी टिप्ने र ढुवानी भाडासमेत नउठ्ने भएपछि अर्को खेती गर्नका लागि किसानले तरकारी नष्ट गर्न थालेका हुन् ।

पछिल्लो समय किसानले तरकारीको मूल्य नपाएपछि पनि खेतबारी जोत्न थालेका छन् । सोमबार पूर्वी चितवनका चार किसानले एकसाथ तरकारी खेतीमा ट्याक्टर लगाएका छन् । आफूले उत्पादन गरेको तरकारी उत्पादनले बजारभाउ नपाएपछि खैरहनी नगपालिका-१ ज्यामिरेका इन्दिरा भुसाल, सूर्यप्रसाद भुसाल, नवराज भुसाल र कृष्ण सापकोटाले बन्दाकोभी र मुलाखेतीमा ट्याक्टर लगाएका हुन् । केही दिनअघि सोही नगरपालिका-६ तुलसीपुरका कृषक पुरन महतोले बन्दा जोतेर नष्ट गरेका थिए ।

कृषक नवराज भुसालले चार किसानले २४ कट्ठाभन्दा बढी क्षेत्रफलमा लगाएको बन्दा नष्ट गरेको बताए । बन्दा प्रति किलोग्राम रु एकमा पनि नउठेपछि ट्याक्टर लगाएर नष्ट गरेको उनले बताए । भुसालले १० कट्ठामा लगाएको बन्दामध्ये सात कट्ठाको जेनतेन बिक्री भए पनि तीन कट्ठामा लगाएको बन्दा व्यापारीलाई सित्तैमा लैजान आग्रह गर्दासमेत लैजान नमानेको बताए ।

यसैगरी इन्दिराले छ कट्ठा, सूर्यप्रसादको चार कट्ठा र कृष्णको ११ कट्ठामा लगाएको बन्दाकोभी ट्याक्टर लगाएर नष्ट गर्नुभएको हो । बजारमा बन्दाकोभीको मूल्य प्रतिकेजी रु २० हाराहारी भए पनि धेरै उत्पादन भएपछि कृषकको तरकारी नउठेको हो ।

सो क्षेत्रका तरकारी किसानको संस्था ग्रामीण ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्ष पूर्णदत्त भुसालका अनुसार ३६५ कृषक सहकारीमा आबद्ध भएर तरकारी खेती गर्दै आएका छन् । उनका अनुसार १२ बिघा जतिमा लगाएको बन्दा नष्ट गरिसकिएको छ । अझै ६० बिघा जतिमा बन्दा रहेको उनले बताए । गत वर्ष त्यस सहकारीका सदस्यले रु एक करोडको बन्दा बिक्री गरेको भुसालले जानकारी दिए ।

सो क्षेत्रमा लगाइएको बन्दासँगै मुला, भेन्टा, केराउलगायतले पनि मूल्य नपाएको उनले बताए । त्यहाँका कृषकले झण्डै ३०० बिघामा तरकारी खेती गरेका छन् । खेती गर्दा खर्च बढी हुने तर मूल्य नपाएर जोत्नु पर्दाको पीडा किसानले व्यहोरिरहनुपरेको भुसालले बताए ।

प्रकाशित मिति: Feb 5, 2019

प्रतिक्रिया दिनुहोस्