Logo
१२ बैशाख २०८१, बुधबार
(February 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ सभाको १ वर्ष : जम्मा ७२ बैठक, १७ वटा ऐन पारित, सांसद कुशवाहा ६१ दिन अनुपस्थित

जनकपुर : प्रदेश २ स्थित प्रदेशसभा स्थापनाको एक वर्ष पूरा भई आजबाट दोस्रो वर्षमा प्रवेश गरेको छ । संघीयता कार्यान्वयनका क्रममा भएको प्रदेश निर्वाचनपछि २१ माघ ०७४ मा प्रदेश २ सभा गठन भएको थियो । सभाले आफ्नो पहिलो वार्षिकोत्सव धुमधामका साथ मनाइरहेको छ । एक वर्षको अवधिमा ७२ वटा बैठक गरेको प्रदेश सभाले विभिन्न १७ वटा ऐन पारित गरेको छ  ।

सातवटा विधेयकको मस्यौदामाथि छलफल चलिरहेको छ । यस अवधिमा सभाले दुई आर्थिक वर्षको बजेट ल्याएको छ । २ भदौमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभामा करिब ४५ मिनेट सम्बोधन गरेका थिए । त्यसैगरी, प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

सभामा सक्रिय सांसदबैठकका दौरान विपक्षी दल कांग्रेसका सांसद शिवचन्द्र चौधरी र नेकपाका सचेतक सुन्दरबहादुर विश्वकर्मा सबैभन्दा बढी समय सक्रिय रहे । उनीहरूले २६ वटा बैठकमा विभिन्न विषयमा आफ्ना धारणा राखेका थिए ।

यस्तै, ज्वालाकुमारी साहले १६, मनीषकुमार सुमनले १४, रामसरोज यादव, परमेश्वर साह, उपेन्द्रप्रसाद कुशवाह, दिलीपकुमार साह, पारस साह, लालबाबु साह र रामचन्द्र मण्डलले १२ वटा बैठकमा मन्तव्य राखे । पाँचजना सांसद एक वर्षको अवधिमा बोलेनन् । तर, उनीहरूको नाम सचिवालयले सार्वजनिक गर्न चाहेन ।

६१ दिन अनुपस्थित

नेकपाका सांसद कुन्दनप्रसाद कुशवाहा ७२ मध्ये ६१ बैठकमा अनुपस्थित देखिएका छन् । उनी जम्मा ११ वटा बैठकमा मात्र सहभागी रहेको संसद् सचिवालयले जनाएको छ । सचिवालयका प्रवक्ता उपसचिव रञ्जितकुमार यादवले सांसदहरूको उपस्थिति औसतमा ५० देखि ६० बैठक पाइएको बताए । ७२ वटै बैठकमा सहभागी हुनेमा सभामुख सरोजकुमार यादव, बच्चा राउत अहिर र प्रमिला दास छन्  ।

प्रकाशित मिति: Feb 4, 2019

प्रतिक्रिया दिनुहोस्