Logo
४ बैशाख २०८१, मंगलबार
(January 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतको कडा नीतिका कारण नेपाली जडीबुटीको निर्यात खस्किँदै, जडीबुटी खेती प्रवर्धन

बाँके : चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालगञ्ज नाकाबाट रु ३७ करोड मूल्य बराबरको जडीबुटी भारततर्फ निकासी भएको छ ।

जडीबुटी निकासी हुने प्रमुख नाकाका रुपमा नेपालगञ्जलाई लिइने गरिन्छ । उक्त अवधिमा यस नाकाबाट रु ३७ करोड २३ लाख मूल्य बराबरका ६ लाख ८२ हजार ५१० किलोग्राम जडीबुटी भारततर्फ निर्यात भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

यहाँबाट निकासी हुने जडीबुटी भारत हुँदै तेस्रो मुलुकसम्म निर्यात हुने गरेको छ । जडीबुटी निकासीको प्रमुख नाका भनिए पनि यो नाकाबाट निकासी बढ्नुका साटो प्रत्येक वर्ष घट्दो अवस्थामा छ । भारतको कडा नीतिका कारण हरेक वर्ष यसको निकासी घट्दै गएको जडीबुटी व्यवसायीको भनाइ छ ।

नेपाल जडीबुटी व्यवसायी सङ्घको पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार जडीबुटी निर्यात निकै खस्किएको छ । एकदशक अघिसम्म वार्षिक ७० लाख किलोग्राम जडीबुटी भारततर्फ निकासी हुने गरेकोमा हाल न्यूनमात्र निर्यात हुने गरेको सङ्घको तथ्याङ्क छ ।

आव २०७२/०७३ मा नेपालगञ्ज हुँदै ४६ लाख ३८ हजार २१५ किलोग्रामका ४५ प्रकारका जडीबुटी निकासी भएको थियो तर, आव २०७३/०७४ मा घटेर ४० लाख ५० हजार ६७४ किलोग्राम जडीबुटी निर्यात भएको तथ्याङ्क छ । यसैगरी आव २०७४/०७५ मा २७ लाख ५४ हजार २०० किलोग्राम जडीबुटी निकासी भएको भन्सार कार्यालयले जनाएको छ ।

जडीबुटीको निर्यातको अवस्था खस्किएको देखिएको सङ्घका कार्यालय प्रमुख पुष्कर खरेलले बताए । उनका अनुसार टिम्मुर, रिठा र काउलो सबैभन्दा बढी निकासी भएको छ । औषधि, साबुन, स्याम्पुजस्ता सामग्री बनाउन प्रयोग गरिने यी जडीबुटी भारतमा मात्र नभई जर्मन, बङ्गलादेशजस्ता तेस्रो मुलुकमा पनि निर्यात भइरहेको उनले बता‘ए ।

सङ्घका अध्यक्ष मोहमद याकुब अन्सारीले जडीबुटी निर्यातमा ‘ट्रान्जिट परमिट’ लिनुपर्ने व्यवस्था लागू भएपछि व्यवसायी मारमा परेको बताए । ‘ट्रान्जिट परमिट’को व्यवस्थाले अहिले जडीबुटी निर्यातमा समस्या भएको छ । सरकारले जडीबुटी निर्यातमा भइरहेको समस्या समाधानका लागि पहल नगरेको उनको गुनासो छ ।

उनले भने, “रूपैडिहा नाकामा २० वर्षदेखि ट्रान्जिट पर्मिटको समस्या भोगिरहेका छौँ । समाधानका लागि सरकारले पहल गर्न सकिरहेको छैन ।” यहाँबाट सबैभन्दा बढी रिठा, तेजपात, काउलोको बोक्रा, चिराइतो, दालचिनी, कुरिलो, पखानवेद, अमला, चुत्रो बोक्रा, टिमुरलगायतको जडीबुटी भारततर्फ निर्यात हुने गरेको बताइएको छ ।

त्यस्तै, जडीबुटी खेती प्रवर्धन गर्न जिआइजेटको सहयोगमा पश्चिम नेपालको छ वटा जिल्लामा विभिन्न सहयोग गरेर व्यावसायिक जडीबुटीको खेती गरिएको छ । जडीबुटी व्यवसायी सङ्घको समन्वयमा सुर्खेत दाङ र प्यूठानमा तेजपात, टिमुर र च्युरीखेती गर्न थालिएको छ भने बाँके, कैलाली र कञ्चनपुरमा मेन्था, कुरिलो र केमोमाइल खेती गरिएको छ ।

यीबाहेक अन्य जिल्लाबाट पनि जडीबुटी सङ्कलन हुन्छ । टिमुर, रिठा, काउलो बोक्रा, चिराइतो, सत्तावर (कुरिलो), दालचिनी, तेजपत्ता, पखानवेद, सुठो, क्यामोमाइल, मेन्थालगायत ४० प्रकारका जडीबुटी नेपालबाट निर्यात हुँदै आएका छन् । जसमा भारतमा मात्रै झण्डै ९० प्रतिशत जडीबुटी खपत हुन्छ । बाँकी चीन, जर्मन, पाकिस्तान, बङ्गलादेशलगायत देशमा निकासी हुने गरेको छ ।

प्रकाशित मिति: Jan 31, 2019

प्रतिक्रिया दिनुहोस्