Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकाएक गायब भएका बलिउडका यी पाँच नायिका : अहिले कहाँ छन्, कस्ता देखिन्छन्

मायानगरी मुम्बईमा समय–समयमा यस्ता विभिन्न तारा चम्किए जो केही समयपछि नै अस्ताए पनि । बलिउड उद्योगमा पनि नायक-नायिकाबीच विभेद छ । यहाँ नायकहरु निकै लामो समयसम्म राज गर्न सक्छन् भने नायिकासँग सिमित समय मात्र हुन्छ । जस्तै, आजको समयमा करिश्मा कपुर, प्रीति जिन्टाजस्ता विभिन्न नायिका इन्डष्ट्रिबाट बाहिरिसकेका छन् भने ५० वर्ष पार गरेका केही नायक अहिले पनि मुख्य भूमिकामा छाएका छन् । आउनुहोस्, गायब भइसकेका पाँच नायिकाबारे जानकारी लिऔंः

ममता कुलकर्णी

बलिउडमा बोल्ड र बिन्दास छवि बनाउन सफल ममता कुलकर्णीले आफ्नो फिल्मी करियर सन् १९९२ मा ‘तिरंगा’ बाट सुरु गरिन् । लगभग दुई दर्जन फिल्ममा आबद्ध ममताका सात फिल्म हिट रहे । तर सन् २००० मा उनी फिल्म इन्डष्ट्रिबाट एकाएक गायब भइन् । विभिन्न स्रोतका अनुसार उनी ड्रग्स माफिया विकी गोस्वामीसँगको प्रेममा थिइन् र दुबईको जेलबाट प्रेमीलाई छुटाउनका लागि उनले बलिउड छोडेकी थिइन् ।

विक्कीलाई सन् १९९७ मा लागुऔषध तस्करीमा २५ वर्षको जेल सजाय सुनाइएको थियो तर राम्रो व्यवहारका कारण सन् २०१२ मा उनलाई जेलबाट रिहा गरिएको थियो । विक्कीले सन् २०१३ मा ममतासँग विवाह गरे । अहिले यी दुई केन्याको मोम्बासामा बस्छन् ।

किमी काटकर

‘जुम्मा चुम्मा दे दे’ यो गीत तपाईंलाई याद छ भने किमी काटकर पनि याद होला । टार्जन फिल्ममा दिएका केही बोल्ड दृश्यका लागि पनि दर्शक उनलाई याद गर्छन् । किमीको करियर निकै छोटो रह्यो तर समिक्षकलाई मान्ने हो भने अस्सी र नब्बे को दशकमा इन्डष्ट्रिमा किमीलाई सेक्स साइरनको रुपमा याद गरिन्थ्यो । फोटोग्राफर र विज्ञापन निर्माता शान्तनु श्योरेसँग विवाह गरेपछि उनी फिल्ममा देखिइनन् । उनी वर्षौंसम्म अष्ट्रेलिया बसेर केही समयअघि मात्रै भारत फर्किएकी छिन् ।

मन्दाकिनी

अभिनेत्री मन्दाकिनी पनि यो सूचीमा पर्छिन् । बलिउडमा मन्दाकिनीको जीवन-यात्रा निकै छोटो रह्यो । राज कपुरको ‘राम तेरी गंगा मैली’ मन्दाकिनीको पहिलो फिल्म हो र यसै फिल्मबाट उनले पहिचान पाएकी हुन् । फिल्ममा मन्दाकिनीमाथि केही बोल्ड दृश्य छायांकन गरिएको थियो जसमाथि सेन्सर बोर्डले आपत्ति जनाएको थियो ।

आयशा जुल्का

नब्बेको दशकमा आयशाको बलिउडमा राज थियो । आयशा फिल्मबाहेक नीजि सम्बन्धका कारण पनि सधैं विवादमा रहिन् । फिल्म ‘जो जिता वही सिकन्दर’ मा अंजली पात्रले उनलाई निकै चर्चित तुल्यायो । करियरको उच्च बिन्दुमा हुँदा नै उनले बलिउड त्यागिन् । विवाहपछि आफ्नो नीजि जीवनका खातिर आयशाले आफ्नो सफल करियर छोडिन् र दर्शकले आफूलाई मनपर्ने अभिनेत्रीलाई गुमाए ।

अनु अग्रवाल

‘बस एक सनम चाहिए आशिकीके लिए’ भन्ने गीत एक समय सबैको मुखमा झुण्डिएको थियो र फिल्मकी नायिका अनु अग्रवाल रातारात स्टार बनेकी थिइन् । पहिलो फिल्म नै हिट हुने सौभाग्य निकै कम नायिकाले पाएका हुन्छन् । तर आशिकी फिल्मलगत्तै अनु भयानक सडक दुर्घटनामा परिन् जसले उनको जीवन सधैंका लागि परिवर्तन गर्यो । उनी त्यसपछि कहिले पनि ठूलो पर्दामा देखिइनन् । आजकाल उनी बिहारमा बच्चालाई योग सिकाउने काम गर्छिन् ।

प्रकाशित मिति: Jan 31, 2019

प्रतिक्रिया दिनुहोस्