Logo
८ बैशाख २०८१, शनिबार
(January 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकपछि अर्को सफलता चुम्दै सरकार : जनताको चाहनालाई तीव्रता दिन नयाँ-नयाँ प्रविधि

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकको समृद्धिको अभियानलाई दृढतापूर्वक अगाडि बढाइरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले सरकारले मुलुकमा नयाँ-नयाँ कामको थालनी गरिरहेको र त्यसले एकपछि अर्को सफलता चूमिरहेको दावी पनि गरे ।

बिहीबार नेपाल टेलिभिजनको ३४ औं वार्षिकोत्सव तथा एचडी प्रशारणको शुभारम्भ गर्दै उनले जनताको विकासको चाहनालाई तीव्रता दिन सरकारले नयाँ-नयाँ प्रविधिको विकासमा जोड दिएको पनि स्पष्ट पारे । जनताको चाहनाअनुसार विकास, निर्माणको कामलाई तीव्रता दिन सरकारले मुलुकको आवश्यक्ता अनुसार नयाँ-नयाँ प्रविधि भित्रयाउँदै जाने प्रधानमन्त्री ओलीको योजना छ ।

प्रधानमन्त्री ओलीले सरकारले हरेक दिन एक कदम अघि बढने संकल्प लिएको उल्लेख गर्दै त्यसलाई सफलतापूर्वक अघि बढाउने दृढता पनि व्यक्त गरे । त्यस अवसरमा प्रधानमन्त्री ओलीले नेपाल टेलिभिजनको प्रगतिको कामना पनि गरे । कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल टेलिभिजनमा एचडी प्रशारण गर्न आफूले ठूलै मेहनत गर्नु परेको बताए ।

उनले नेपाल टेलिभिजनलाई छिट्टै सार्वजनिक प्रशारण संस्थाको रुपमा विकास गर्ने घोषणा पनि गरे । नेपाल टेलिभिजन सरकारी नभई जनता र राष्ट्रको टेलिभिजन भएको उल्लेख गर्दै उनले नेपाल टेलिभिजनमा राजनीतिक कार्यकर्ता बनेर गडबडी गर्न नदिने पनि स्पष्ट पारे । मन्त्री बास्कोटाले ‘चारतारे’ र ‘लालतारे’ बनेर आउनेले नेपाल टेलिभिजनलाई गडबडी गर्ने गरेको उल्लेख गर्दै अब त्यस्ता गतिविधि हुन नदिने चेतावनी पनि दिए ।

उनले अन्य सञ्चारमाध्यामसँग प्रतिस्पर्धा गरेर नेपाल टेलिभिजनलाई अघि बढाउन पनि त्यहाँका कर्मचारीहरुलाई सचेत गराए । मन्त्री बास्कोटाले नेपाल टेलिभिजनमाथि सरकारले हस्तक्षेप नगर्ने पनि बताए ।

प्रकाशित मिति: Jan 31, 2019

प्रतिक्रिया दिनुहोस्