Logo
१२ बैशाख २०८१, बुधबार
(January 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुख्यमन्त्रीले पत्र नै लेखेर दिए मन्त्रीहरूलाई यस्तो निर्देशन

पोखरा : गण्डकीका मन्त्रीले इन्धनमा दोहोरो सुविधा लिएपछि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पत्र नै लेखेर कडा निर्देशन दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट मन्त्रीहरूलाई मासिक रूपमा १५० लिटर इन्धन उपलब्ध हुँदै आएको छ ।

त्यतिले नपुगेर उनीहरूले नियमविपरीत आफ्नै मन्त्रालयबाट एकसय ५० लिटर भन्दा बढि थप इन्धन प्रयोग गरेकोबारे विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन प्रसारण भएपछि पत्र लेखेर निर्देशन गरिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ। त्यस्तै प्रदेशको राजधानीबाट नजिक रहेका जिल्लामा मन्त्रीहरुले कति दिनको भ्रमण आदेश पाउने भन्नेबारे पनि पत्रमा उल्लेख गरिएको छ ।

यस विषयमा विभिन्न चरणमा मुख्यमन्त्री कार्यालयमा बैठक बसी निर्णय भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। पत्रमा तनहुँ, स्याङ्जा, गोरखा र लमजुङ जान मन्त्रीहरूलाई एक दिनको मात्र भ्रमण आदेश मुख्यमन्त्री कार्यालयबाट स्वीकृत हुने उल्लेख छ । अरु जिल्लामा भने दुई दिनसम्मको भ्रमण आदेश पाउने बताइएको छ। त्यस्तै पोखराबाट नजिकको जिल्लामा लगातार केही दिन कार्यक्रम भए दुई दिनसम्म मात्र भ्रमण आदेश स्वीकृत हुने पत्रमा उल्लेख छ ।

मुख्यमन्त्री कार्यालयले पत्रमै लेखेर मन्त्रीहरुलाई प्रदेश बाहिरको भ्रमणका लागि पूर्वस्वीकृति अनिवार्य लिन आग्रह गरेको छ । उद्घाटन गर्न जाने भ्रमण स्वीकृत नहुने मन्त्रीहरू आफ्नो मन्त्रालयकोबाहेक अन्य काममा पनि सहभागी हुन थालेपछि मुख्यमन्त्री कार्यालयले त्यसो नगर्न मन्त्रीहरुलाई निर्देशन गरेको छ । ‘मन्त्रालयको कामको विवरण उल्लेख नभएको भ्रमण स्वीकृत नगर्ने’ मुख्यमन्त्री कार्यालयबाट सबै मन्त्रालयमा पठाइएको पत्रमा भनिएको छ ।

अब गण्डकीका मन्त्रीहरले विभिन्न उद्घाटन तथा स-साना कार्यक्रमहरुमा सहभागि हुन जानको लागि भ्रमण आदेश नै नपाउने भएका छन्। मुख्यमन्त्री कार्यालयले उद्घाटन जस्ता स-साना कार्यक्रमको भ्रमण आदेश नपाउने भनेर पत्रमै उल्लेख गरी निर्देशन गरेको छ ।

 

प्रकाशित मिति: Jan 31, 2019

प्रतिक्रिया दिनुहोस्