Logo
८ बैशाख २०८१, शनिबार
(January 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेश : सार्वजनिक लेखा समितिद्वारा मन्त्रीहरुलाई इन्धनको विवरण उपलब्ध गराउन निर्देशन

पोखरा : गण्डकी प्रदेशको सार्वजनिक लेखा समितिले प्रदेशका सबै मन्त्रालयलाई मन्त्रीहरुले प्रयोग गरेको इन्धनको विवरण ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ । सार्वजनिक लेखा समितिका सभापति कुमार खड्काले मन्त्रीहरुले इन्धनको सुविधा नियम विपरीत थप गरी लिएको गुनासो बढ्न थालेपछि मंगलबार लेखा समितिको बैठक बोलाएर विवरण उपलब्ध गराउन निर्देशन दिएको बताए ।

‘मन्त्रीहरुले कति इन्धन प्रयोेग गर्न पाउने भनेर उल्लेख गरेको छ। त्योभन्दा धेरै लिए कानुन विपरीत हुन्छ,’ समितिका सभापति खड्काले भने, ‘हाम्रो लेखा समितिको बैठकले हरेक मन्त्रालयमा कुन मन्त्रालयबाट के प्रयोजनका लागि कति थप इन्धन सुविधा लिएको छ । त्यो विवरण खुलाएर पेश गर्न निर्देशन दिने निर्णय गरेका हौँ ।’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट हरेक मन्त्रीहरुलाई मासिक १५० लिटरका दरले इन्धन खर्च उपलब्ध हुँदै आएको छ ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबाहेक सबै मन्त्रीहरुले आफ्नै मन्त्रालयबाट पनि इन्धन थप गरेर प्रयोग गरिरहेका छन्। मुख्यमन्त्री गुरुङले मासिक २५० लिटर इन्धन सुविधा पाउने व्यवस्था छ । मुख्यमन्त्री गुरुङले सरकारले दिएको भन्दा धेरै इन्धन खर्च गर्नु परे आफ्नै खर्चले गर्ने सार्वजनिक रुपमै घोषणा गरेका छन् । उनले इन्धन अपुग भएको भन्दै मन्त्रालयबाट अहिलेसम्म कुनै थप सुविधा नलिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको लेखा शाखाले जनाएको छ ।

प्रकाशित मिति: Jan 30, 2019

प्रतिक्रिया दिनुहोस्