Logo
८ बैशाख २०८१, शनिबार
(January 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समायोजन सुरु : विशिष्ट श्रेणीका ५६ जना सचिवलाई समायोजन पत्र

काठमाडौं : बहुप्रतिक्षित भनिएको समायोजन प्रक्रिया सुरु भएको छ । सरकारले विशिष्ट श्रेणीका ५६ जना सचिवको समायोजन गरेको छ । ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार विशिष्ट श्रेणीका ती सचिवको संघमा समायोजन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले बताए ।

विशिष्ट श्रेणीका यी सचिवहरु सहित देशभरका कर्मचारीले गत पुस ११ देखि माघ २ गतेसम्म तीनै तहमा समायोजन रोज्न अनलाइन फाराम भरेका थिए । सरकारले संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ ।

उनका अनुसार ज्येष्ठताका आधारमा ती सचिवलाई मुख्य सचिव लोकदर्शन रेग्मीले समायोजनको पत्र दिएका हुन् । केही दिनअघि मात्र मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई समायोजन रोजेका सचिवको पत्र स्वीकृतिका लागि पठाएको थियो ।

मन्त्रालयले पठाएको आधारमा मन्त्रिपरिषद्ले ती सचिवको समायोजन पत्र स्वीकृत गरी समायोजन गरेको हो । यसैगरी मन्त्रालयले तीनै तहमा सहसचिवको समायोजनका लागि पत्र तयार पारेको छ ।

उनका अनुसार समायोजन रोजेका करीब ६०० सहसचिवको समायोजन स्वीकृत गर्न मन्त्रिपरिषद् कार्यालयमा पत्र पठाउन लागिएको छ । मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि ती सहसचिवलाई मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले समायोजनको पत्र दिनेछन् ।

यसैगरी संघमा मात्र सेवा समूह रहेकाको समायोजनको प्रक्रियासमेत शुरु गरिएको उपसचिव निरौलाले बताए । उनका अनुसार संघमा मात्र सेवा समूह रहेका परराष्ट्र, न्याय र महालेखा परीक्षक सेवा समूहको समायोजनको प्रक्रिया प्रारम्भ भएको छ ।

 

प्रकाशित मिति: Jan 22, 2019

प्रतिक्रिया दिनुहोस्