Logo
७ बैशाख २०८१, शुक्रबार
(January 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सभामुखको आग्रहलाई बेवास्ता, नाराबाजीपछि संसद बैठक १५ मिनेटको लागि स्थगित

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधका कारण संघीय संसदको प्रतिनिधिसभा बैठक १५ मिनेटको लागि स्थगित भएको छ । जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई केन्द्र सरकार मातहत राख्न माग गर्दै काँग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेको हो ।

नेपाली काँग्रेसका नेताका नाममा रहेका अस्पताललाई पूर्वाग्रहसाथ सरकारले केन्द्र सरकारको मातहतमा नराखेर खारेजी गर्ने अवस्थामा पुर्याएको भन्दै त्यसको विरोधमा काँग्रेस सांसदहरुले मङ्गलबारको प्रतिनिधिसभा बैठक पनि अवरोध गरेका हुन् । बैठकमा बोल्दै काँग्रेस सांसद प्रकाशमान सिंहले गिरिजाप्रसाद कोइरालाका नाममा खोलेको अस्पताल र शुशील कोइराला अस्पताल केन्द्र सरकारमातहत चलाउने निर्णय नगर्दासम्म बैठक चल्न नदिने घोषणा गरे ।

सांसद सिंह बोले लगत्तै काँग्रेस सांसदहरु उठेर रोष्टम घेरेका थिए । त्यहि बेला सभामुख कृष्ण बहादुर महराले काँग्रेस सांसदले उठाएको विषयमा सरकारको ध्यानाकर्षण गराएकाले आसनग्रहण गर्न आग्रह गरेपनि सांसदहरुले सभामुखको आग्रहलाई बेवास्ता गरेका थिए । त्यसक्रममा मर्यादापालक र काँग्रेस सांसदहरुबीच ठेलाठेल भएको थियो ।

सो क्रममा काँग्रेस सांसदहरुले बैठक चल्न नदिने अडानका साथ सरकार र सभामुखविरुद्ध नाराबाजी पनि गरे । निरन्तरको आग्रहबाट पनि काँग्रेस सांसदहरु शान्त नबनेपछि सभामुख महराले १५ मिनेटको लागि बैठक स्थगित भएको घोषणा गरे ।

प्रकाशित मिति: Jan 22, 2019

प्रतिक्रिया दिनुहोस्