Logo
७ बैशाख २०८१, शुक्रबार
(January 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिपक्षीको विरोधका बाबजुद जसरी पनि चिकित्सा शिक्षा विधेयक पारित गर्ने पक्षमा सत्ता पक्ष

काठमाडौँ : चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट जसरी पनि पारित गर्ने पक्षमा सत्ता पक्ष देखिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितको विरोधका बाबजुद पनि सत्ता पक्ष संसदको शिक्षा तथा स्वास्थ्य समितिले अन्तिम रुप दिइ पारित गरेको चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्ने पक्षमा रहेको हो ।

सोमबारको संसद बैठकबाटै विधेयक पारित गर्ने तयारी स्वरुप कार्यतालिका तय भएको थियो, तर कांग्रेसको अवरोधका कारण संसद बैठक अवरुद्ध भयो ।

मंगलबार बस्ने बैठकबाट भने जसरी भए पनि विधेयक पारित गर्ने पक्षमा आफूहरु रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मुख्य सचेतक देव गुरुङ्गले देश बताए । उनका अनुसार सकेसम्म प्रतिपक्षी कांग्रेसलाई पनि साथैमा लैजाने प्रयास हुने र नभए पनि विधेयक पारित गर्ने पक्षमा सत्ता पक्ष छ ।

गिरिजाप्रसाद कोइराला र सुशील कोइरालको नाममा रहेका अस्पताललाई प्रदेश मातहतमा राख्न खोजिएको तथा डा. गोविन्द केसीको माग पूरा नगरी चिकित्सा शिक्षा विधेयक पारित गर्न खोजिएको भन्दै कांग्रेसले सोमबार संसदका दुवै सदनमा अवरोध गरेको थियो ।

विधेयकमा आफ्ना माग नसमेटिएको भन्दै डा. गोविन्द केसी १६ औँ पटकको अनशनमा रहेकै बेला सरकारले भने विधेयकले डा. केसीका सबै माग पूरा गरेको दाबी गर्दै विधेयक पारित गर्ने तयारी गरेको हो ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले डा. केसीका माग समेत समेटेर विधेयकलाई अन्तिम रुप दिइ संसदको पूर्ण बैठकमा पेश गरेको र अब त्यो पारितको तयारी रहेको सरकारले जनाएको छ ।

सरकार र मन्त्रीहरुले उनका माग पूरा भएको बताए पनि डा. केसी भने आफ्ना माग पूर्णरुपमा सम्बोधन नभएको भन्दै १६ औँ अनशनमा छन् ।

इलामाबाट अनशन सुरु गरेका डा. केसीको स्वास्थ्यमा समस्यादेखिएपछि बिहीबार राति काठमाडौँ ल्याइएको थियो । उनी अहिले त्रिवि शिक्षण अस्पतालमा उपचारसहित अनशनमा छन् ।

प्रकाशित मिति: Jan 22, 2019

प्रतिक्रिया दिनुहोस्