Logo
७ बैशाख २०८१, शुक्रबार
(January 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालसँग राजनीतिक तहमा सम्बन्ध विस्तार गर्न खोज्दै BJP-भारत

नयाँ दिल्ली : नयाँ शक्ति नेपालका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले भारतका राजनीतिक दलका नेताहरुले नेपालसँग राजनीतिक तहमै सम्बन्ध अगाडी बढाउन चाहेको बताएका छन् ।

‘नाकाबन्दी लगायतका समस्याहरुमा कर्मचारीतन्त्रको भूमिका प्रमुख रहेको अनुभव अधिकांश नेताहरुले भेटघाटको क्रममा व्यक्त गर्नुभयो,’ साताव्यापी भारत भ्रमणमा रहेका पाण्डले भने, ‘अब राजनीतिक नेतृत्व तहमै प्रत्यक्ष भेटघाटलाई बाक्लो बनाउनुपर्छ भन्ने मनोभावना उहाँहरुको पाएँ ।’

कृष्णप्रसाद भट्टराई र जवाहरलाल नेहरुको व्यक्तिगत सम्बन्धका प्रसंग कोट्याउँदै पछिल्लो समय दुई देशको सम्बन्ध केही विचौलियाहरुमा निर्भर रहनु दुःखद् रहेको अनुभव आदानप्रदान भएको उनले बताए ।

नयाँ शक्तिको प्रचार विभागको एक टोली विभागका प्रमुख पाण्डेको नेतृत्वमा माघ १ गते भारतका विभिन्न पार्टीहरुको सञ्चार अभ्यास र सफल क्रियाकलापहरुको अध्ययन गर्न दिल्ली आइपुगेको थियो ।

टोलीले भारतीय जनता पार्टीका प्रचार विभाग प्रमुख अनिल बुलानी, उपप्रमुख डा। सञ्जय मयुख, प्रवक्ता सञ्जय पात्रसँग भाजपाको केन्द्रीय कार्यालयमा प्रचार अभ्यासबारे अनुभव आदानप्रदान गरेको थियो ।

त्यसैगरी भारतीय राष्ट्रिय कांग्रेस पार्टीका राष्ट्रिय प्रवक्ता राजिव त्यागी, सञ्चार संयोजक तथा प्रवक्ता प्रियंका चतुर्वेदी, सञ्चार विभागका सचिव प्रणव झा, भारतीय युवा कांग्रेसका राष्ट्रिय प्रवक्ता तथा मिडिया इञ्चार्ज अमरिश रञ्जन पाण्डेसँग भारतीय युवा कांग्रेसको कार्यालयमा प्रचार अनुभव आदानप्रदान गरिएको थियो ।

त्यसैगरी आम आदमी पार्टीको सूचना प्रविधि तथा सामाजिक सञ्जाल प्रमुख अंकित लालसँग पनि भ्रमण टोलीले अन्तरक्रिया तथा अनुभव आदान प्रदान गरेको छ ।

टोलीले भाजपाका राष्ट्रिय उपाध्यक्ष श्याम जाजु, भगतसिंह कोसियारी, अजितकुमार, वामपन्थी पत्रकार तथा बुद्धिजिवी आनन्दस्वरुप बर्मा, चुनावी अभियान रणनीतिकार प्रशान्त किशोरलगायतसँग भेटघाट तथा अन्तरक्रिया गरेको छ । त्यस्तै भाकपा ९मार्क्सवादी९का महासचिव सिताराम यचुरीसँग पनि टोलीले भेटेको थियो ।

सबै भेटघाट, छलफल, कुराकानीमा राजनीतिक पार्टीको सञ्चार रणनीति, नेपाल–भारत सम्बन्ध, दुई पार्टीबीचको सम्बन्ध लगायतका बारेमा कुराकानी भएको नयाँ शक्ति पार्टीका प्रचार विभाग प्रमुख पाण्डेले जानकारी दिए । विशेषगरी सञ्चार क्षेत्रको सफल अभ्यास र अनुभव आदानप्रदान महत्वपूर्ण रहेको उनले बताए ।

नयाँ नयाँ सूचना प्रविधिको प्रयोगमा विभागले अध्ययन गर्ने र नयाँ शक्ति पार्टीका नेताहरुलाई पनि यसमा अभ्यस्त बनाउन विभिन्न प्रशिक्षणमूलक कार्यक्रमहरु सञ्चालन गर्ने, राजनीतिक पार्टीको सञ्चारलाई आम जनतासँग दोहोरो रुपमा स्थापित गरी जनतासँगको सम्बन्ध बलियो बनाउने कुरामा नयाँ शक्तिको प्रचार विभागले ध्यान केन्द्रित गरेको प्रमुख पाण्डेले बताए ।

प्रकाशित मिति: Jan 20, 2019

प्रतिक्रिया दिनुहोस्