Logo
१२ बैशाख २०८१, बुधबार
(January 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नुवाकोटमा गोरु जुधाएर सकियो, तर मान्छे जुध्न छाडेनन्

काठमाडौँ : गोरुजुधाइ मेलाले प्रसिद्धि कमाएको नुवाकोटमा यस वर्ष २३ हल गोरु जुधाउनका लागि दर्ता भएको थियो । विगतका वर्षहरू झैँ वर्ष पनि गोरु जुधाइ माघेसङ्क्रान्तिको अवसरमा गोरु जुधाइ प्रतियोगिता आयोजना गरिएको हो ।

माघेसङ्क्रान्तिको दिन खेलकुदमन्त्री जगत विश्वकर्माको उपस्थितिमा २२ हल गोरु जुधाइएको माघेसङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाले जनाएको छ । यो परम्परालाई लिएर कतिपय पशु अधिकारकर्मीले विरोध गर्दै आए पनि धेरैको चासो र चर्चाको विषय बन्छ तारुकाको गोरुजात्रा । तर तारुकाको मौलिक पहिचान नै बनिसकेको गोरु जुधाइ प्रतियोगिता हेर्न हजारौँ दर्शक तारुका पुगेका थिए ।

प्रतियोगिताका क्रममा किसानले पालेका बलिया र आकर्षक गोरुहरू बढीमा एक घण्टासम्म जुधे अर्थात् निश्चित समय जुधेर गोरु छुट्टिए । तर त्यही गोरु जुधाइले प्रसिद्धि कमाएको भूगोलका किसानदेखि स्थानीय नेतासम्मको ‘जुधाइ’ भने अझै सकिएको छैन । गोरु जुधाइपछि दिइने पुरस्कारमा आयोजकले राजनीतिक रूप दिएको भन्दै स्थानीय केही किसानले पुरस्कार बहिष्कार र प्रमाणपत्रसमेत च्यातिदिएको एक स्थानीयले जानकारी दिए ।

स्थानीय मदन श्रेष्ठले पुरस्कार वितरणमा आयोजकले पक्षपातपूर्ण व्यवहार गरेको भन्दै त्यसको विरोधमा आफूहरूले बुधबार तारकेश्वर गाउँपालिकास्थित वडा नम्बर २ को कार्यालय घेराउ गरेको बताए । उनले गोरु जुधाइको नाममा मनग्य अनुदान आउने गरेको भए पनि समितिले विजयी गोरुधनीलाई ६ हजार मात्रै पुरस्कार दिएको र त्यसमा पनि उत्कृष्ट गोरुको चयनका क्रममा राजनीतिक रङ दिने काम भएको दाबी गरे ।

‘पुरस्कार माघ १ गते नै दिइएन र कति दिने भन्ने पनि कुनै घोषणा गरिएन’, श्रेष्ठले भने, ‘पुरस्कार दिन भनेर खबर आउँदा हामी गयौँ तर समितिले भेदभावपूर्ण व्यवहार गरेको महशुस भएपछि हामी वडा कार्यालय घेराउमा जुट्यौं ।’ उनका अनुसार धर्नासँगै दिनभर वडाध्यक्ष समरबहादुर आले, माघेसङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाका अध्यक्ष शिवबहादुर अधिकारीलगायत र किसानहरूबीच छलफल भएपछि केहीले पुरस्कार लिएको भए पनि केहीले अझै लिन अस्वीकार गरेको बताए ।

सो अघि नै आक्रोशित पूर्वमाओवादी र काँग्रेसनिकटका केही किसानहरूले प्रमाणपत्र नै च्यातेको बताइएको छ । समितिका अध्यक्ष शिवबहादुर अधिकारीले केही किसानहरूले असन्तुष्टि जनाएको भए पनि त्यसलाई ठूलो विषयका रूपमा लिन नहुने प्रतिक्रिया दिएका छन् ।

किसानहरूको माग विजेता र उपविजेतालाई २० हजार र १५ हजार दिनुपर्छ भन्ने थियो तर हाम्रो सीमित आर्थिक स्रोतका कारण विजयीसहित उत्कृष्ट गोरु चयन भएका गोरुधनीलाई ७ हजार र उपविजेतालाई ५ हजार दिएका छौँ’, उनले भने ।

तर अर्का एक किसानले भने मेला समितिमा पूर्वएमाले निकटका अध्यक्ष रहेकाले राजनीतिक पूर्वाग्रह साँधेर पूर्वमाओवादी र नेपाली काँग्रेस निकटकालाई विभेद गरिएको आरोप लगाएका थिए ।

किसान मदन श्रेष्ठले गोरु जुधाइको नाममा लाखौं उठाइए पनि किसानका लागि न्यून पुरस्कार दिइएको र त्यसमा पनि राजनीतिक आस्थाका आधारमा विभेद गरिँदा दुःख लागेको बताए ।

प्रकाशित मिति: Jan 17, 2019

प्रतिक्रिया दिनुहोस्