Logo
१३ बैशाख २०८१, बिहीबार
(January 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्री यादवलाई कारबाहीको माग गर्दै कर्मचारी, नियमानुसार कारवाही नभए दोश्रो आन्दोलन गर्ने चेताबनी

जनकपुरधाम : आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवलाई कारबाहीको मागसहित कर्मचारी आन्दोलनमा उत्रेका छन् । प्रदेश २ का मन्त्री यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानन्द झामाथि गरेको कुटपिटको विरोधमा कर्मचारीहरू आन्दोलित बनेका हुन् ।

निजामती कर्मचारीहरूको ट्रेड युनियन धनुषाले बुधबार मन्त्री यादवलाई कारवाहीको माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सचिव झामाथि कुटपिट गर्ने मन्त्री यादवलाई कारवाहीको माग गर्दै मुख्यमन्त्री लालबाबु राउत र जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।

बुधबार कर्मचारीहरुले मन्त्रालयअगाडि जम्मा भएर माघ ४ गतेसम्मको आन्दोलनको कार्यक्रम सार्वजनि गरेका हुन् । जस अन्तर्गत बुधबार १० बजे देखि ११ बजेसम्म पेन डाउन गरी दिनभर हातमा कालोपट्टी बाध्ने, बिहीबार हातमा कालोपट्टी बाँधी १० देखि १२ बजेसम्म पेन डाउन गर्ने र शुक्रबार हातमा कालोपट्टी बाँधेर १० बजेदेखि दिउँसो १ बजेसम्म पेन डाउन गर्ने आन्दोलनको कार्यक्रम रहेको ट्रेड युनियन धनुषाका अध्यक्ष रामबाबु साहले जानकारी दिए ।

बिहीबारसम्म सत्यतथ्य छानबिन गरी दोषी मन्त्रीमाथि नियमानुसार कारवाही नभए थप दोश्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने अध्यक्ष साहले चेताबनी दिए । गत आइतबार अर्थमन्त्री यादवले आफ्नो कार्यकक्षमा बोलाएर आफूलाई कुटपिट गरेको सचिव झाको आरोप छ भने प्रतिवादमा सचिवले मन्त्रीलाई अपशब्द गालीगलौज गरेको भिडियो सार्वजनिक भएको थियो ।

प्रकाशित मिति: Jan 16, 2019

प्रतिक्रिया दिनुहोस्