Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्रेक्जिट सम्झौताका बारेमा चर्को बहस, बेलायती संसदमा मङ्गलबार मतदान

लन्डन : युरोपेली युनियनबाट बाहिरिने सम्बन्धी सम्झौता (ब्रेक्जिट) का बारेमा बेलायती संसदमा सोमबार अबेरसम्म चर्को बहस भएको छ । सांसदहरु ब्रेक्जिटका बारेमा पक्ष र विपक्षमा बाँडिएका छन् ।

सत्तारुढ दल र विपक्षी दलभित्रै पनि ब्रेक्जिटको समर्थन र विरोधमा छलफल भइरहेका छन् । संसदमा मङ्गलबारका दिन मतदान गर्नेगरी समयसीमा तोकिएको छ । बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियनसँग भएको सम्झौतालाई संसदबाट अनुमोदन गराउनु पर्नेछ ।

हाउस अफ कमन्समा जारी ब्रेक्जिट बहसमा सङ्घर्षरत पक्षहरु निम्न छन् :

सरकार :
सरकारी तलबभत्ता बुझ्नेहरु सबैले सरकारी नीतिको समर्थन गर्नु पर्दछ वा राजीनामा दिनु पर्दछ । सहायक मन्त्री ग्यारेथ जोन्सनले सोमबार राजीनामा दिएका छन् तर अन्तिम समयमा धेरै मन्त्रीको राजीनामा आउने सम्भावना छैन । ब्रेक्जिटको पक्षमा खुलेरै लागेका मन्त्रिपरिषदका सदस्यहरु जस्तै माइकल गोभ र लियाम फक्सले समर्थनमा मतदान गर्नेछन् ।

प्रधानमन्त्रीको पक्षमा अभियान चलाउनेहरु :
केही कन्जरभेटिभ सदस्यहरुले सरकारको पक्षमा बहस चलाइरहेका छन् र उनीहरुले ब्रेक्जिट सम्झौता ठीक हो भनिरहेका छन् । तर उनीहरुको संख्या कम छ ।

कन्जरभेटिभ सांसदहरु :
निर्णायक समय आइपुग्नै लाग्दा केही सांसदले आफ्नो धारणामा परिवर्तन ल्याएका छन् । प्रधानमन्त्री थेरेसा मेका पूर्व नीति प्रमुख जर्ज फ्रीम्यान यही समूहभित्र आबद्ध भएका छन् । केही सांसदहरु भने नराम्रै भए पनि ब्रेक्जिट ठीकै छ भन्नेहरु पनि छन् ।

ब्रेक्जिटका विपक्षीहरु :
ज्याकोब रीज–मगको नेतृत्वमा रहेको एक समूहले ब्रेक्जिटबाट बेलायतलाई फाइदा नपुग्ने बनाइरहेका छन् । यो समूहमा पूर्व विदेश मन्त्री बोरिस जोन्सन, पूर्व ब्रेक्जिट सचिव डेभिड ड्याभिस र डोमिनिक र्याब समेत रहेका छन् । उनीहरुको भनाईमा ब्रेक्जिटबाट बेलायत स्वतन्त्र होइन अझ बढी पराधीन हुने खतरा छ ।

रीज–मोगको युरोपेली अनुसन्धान समूहले गत डिसेम्बरमा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याएको थियो । तर उक्त प्रस्ताव पारित भएन ।

लेबर पार्टीको असन्तुष्टी 
लेबर पार्टीका अधिकांश सांसदहरु युरोपेली पक्षधर छन् र उनीहरु पार्टीकै पक्षमा उभिएका छन् । पार्टी नेता जेरेमी कोर्बाइन उक्त सम्झौता हुन नदिने पक्षमा दृढ हुनुहुन्छ । उहाँ ब्रेक्जिट सम्झौता असफल पारेलगत्तै प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीमा हुनुहुन्छ ।

ब्रेक्जिट प्रस्ताब पारित नभए दोस्रो ब्रेक्जिट जनमतसङ्ग्रह गर्ने प्रस्ताव ल्याइने पार्टीको तयारी छ ।

अरु बिपक्षीहरुः 
स्कटल्यान्डका ३५ जना राष्ट्रवादीहरु, ११ जना युरोपेली पक्षधर लिबरल डेमोक्र्याट, चार जना वेल्सका राष्ट्रवादीहरु तथा ग्रीन पार्टीका एक जना सांसद युरोपेली पक्षधर छन् र उनीहरु कन्जरभेटिभ विरोधी पनि हुन् ।

डेमोक्रेटिक युनियनिस्ट पार्टी (डियुपी) का १० जना सांसदले के गर्ने हुन् भन्ने प्रस्ट छैन । संसदमा बहुमतका लागि डियुपीको महत्वपूर्ण भूमिका हुनेछ । उनीहरु ब्रेक्जिट सम्झौताको विपक्षमा देखिएका छन् । आइरिस सीमाका विषयमा उनीहरुको माग सम्बोधन गर्ने सरकारी आश्वासन भएपनि उनीहरु अझै निर्णयमा पुग्न सकेका छैनन् ।

प्रधानमन्त्री थेरेसा मेले गत साता लेबर पार्टीका सांसदसँग भेटेर व्यवहारिक निर्णयमा पुग्न आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति: Jan 15, 2019

प्रतिक्रिया दिनुहोस्