Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तराई-मधेशमा तिलासङ्क्रान्ति, थरुवहटमा माघी र पहाडी भेगमा माघे सङ्क्रान्तिको यस्तो छ रौनक (फोटोफिचर)

आज माघ १ गते अर्थात तराई-मधेशमा तिलासङ्क्रान्ति, थरुवहटमा माघी र पहाडी भेगमा माघे सङ्क्रान्तिको देशभर रौनक छ । जनकपुरसहित सम्पूर्ण तराई-मधेशमा आज तिला सङ्क्रान्ति धुमधामका साथ मनाइँदैछ । सूर्य मकर राशिमा सङ्क्रमण गरेको दिनलाई मकर सङ्क्रान्ति भनिन्छ । यस दिनलाई माघेसङ्क्रान्ति, तिला सङ्क्रान्ति, माघी वा खिचडी पनि भन्ने गरिन्छ । प्रदेश नं २ का सरकारले तिला सङ्क्रान्तिको अवसरमा सार्वजनिक बिदाको घोषणासमेत गरेको छ ।

इसाई धर्मअनुसार बडा दिन २५ डिसेम्बरलाई मानिन्छ तर सौर्यमास अनुसार दिन मकर सङ्क्रान्तिदेखि बढ्ने गर्दछ । मैथिली भाषामा ‘माघ के दिन बाघ’ भन्ने गरिन्छ । एक महीना लामो खरमासको समाप्ति यसै मकर सङ्क्रान्तिको दिन हुन्छ तथा यस अवधिमा रोकिएका शुभ कार्य फेरि आरम्भ गरिन्छ ।

डोटीको दिपायलसिलगढी नगरपालिका पाकरीमा रनपुतला खेल खेल्दै माईती घर आएका छोरी चेलीहरु । तस्विर : विमलबहादुर विष्ट,डोटी

यसै दिनदेखि दिन बढ्न तथा रात घट्न थाल्दछ । सूर्यको प्रकाशमा तेज (तापक्रम) दिनानुदिन बढ्दै जाने हुँदा अत्यधिक जाडो तथा तराईमा चल्ने शीतलहर यसै दिनदेखि दिनानुदिन अल्प हुँदै जान्छ । मकर सङ्क्रान्तिको ठूलो धार्मिक महत्व रहेको छ । यस दिन बिहानको पूण्यकालमा सबैजना पवित्र जलमा स्नान गरेर सूर्य भगवान्लाई अघ्र्यदान गरी गौदान, अन्नदान, शय्यादान, तिलादान तथा गच्छेअनुसार नगद दान गरी गौ र ब्राह्मणलाई भोजन गराएर मात्र आफूले भोजन गर्ने परम्परा रहिआएको छ ।

धनंच यो द्विजे दद्यात् अलंकृत्य पयस्विनी ।
कांस्य वस्त्रादि भियुक्त स्वर्गलोके महियते ।। (मनुस्मृति)

अर्थात् यस दिन वस्त्र ओढाइएकी तथा सिङ्गारिएकी दुधालु गाईलाई काँसको भाँडो र दक्षिणाका साथ ब्राह्मणलाई दान गर्नाले मानिस सहजै स्वर्गलोक पाउन सक्दछ ।

हेमश्रृङ्गी रौप्यशफा सुशीला वस्त्रसंयुता ।
सकांस्य पात्रा दातव्या क्षीरिणी गौस सदक्षिणा ।। (गरुडपुराण ९८) ।

माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा मङ्गलबार झापाको कनकाई नदीमा मकर स्नान तथा पूजाअर्चना गर्न आएका ७नतसद्धालु भक्तजन । तस्वीर : सन्तोष शर्मा (बनियानी, झापा)

अर्थात् सोझो स्वभाव भएकी दुधालु, सिङमा सुन तथा खुरमा चाँदी मढिएको गाईलाई बस्त्र ओढाएर दुहुने भाँडो र दक्षिणाका साथ ब्राह्मणलाई दान गर्दा स्वर्गलोक प्राप्ति हुन्छ । यस प्रकार यस दिन दानको ठूलो महत्व रहेको छ । मकर सङ्क्रान्तिको दिन घरदैलो सफा सुग्घर पारेर सकेसम्म गाईको गोबरले लिपी दान पुण्य गरी खिचडी पकाउन चामल, तील तथा अदुवा कुल देवतालाई अर्पण गर्ने चलन रहिआएको छ । भुटेको चिउरालाई गुडको चास्नीमा मुछी तयार पारिएको लड्डु तथा बन्हुइ लाइ (गुडको चास्नीमा मुछेर तयार पारिएको मुरही–भुजाको लड्डु) पनि कुल देवतालाई अर्पण गर्ने परम्परा रहेको पाइन्छ ।

घ्यू चाकु खाने पर्वको रुपमा पनि परिचित माघे संक्रान्तिका अवसरमा चाकुका विभिन्न परिकार बनाएर बिक्री गर्न व्यस्त टोखाका व्यवसायी । टोखामा बनाइने चाकु निकै मीठो मानिन्छ । तस्वीर : कृष्ण अधिकारी

यस प्रकारको लड्डु छोरीचेलीको घर कोसेलीको रूपमा पठाउने सामाजिक परम्परा छ । बुहारीको माइतीबाट पनि यस्ता कोसेली अनिवार्यरूपमा आउने गर्दछ । यस प्रकारको कोसेलीले छोरीचेलीको मान बढ्दछ । बुहारी गौरवान्वित हुन्छन् । यस अवसरमा कोसेली आएन भने छोरी बुहारीले आफ्नो मन दुखाउँछन् । अतः गरीब धनी जोसुकैले गच्छेअनुसार खिचडीको कोसेली (बन्हुइ लाइ) छोरी चेलीको घरमा अवश्य नै पठाउँछन् ।

मकर सङ्क्रान्तिको दिन घरघरमा खिचडी पाक्दछ । पाएसम्म बासमतीको चामलमा बेसार, तिल, अदुवा हालेर मन लोभ्याउने खालको खिचडी अवश्य नै पाक्दछ । यस प्रकारले पकाइने चामलको खिचडी नयाँ धानको हुनुपर्दछ किनकी पुरानो धानको खिचडी पकाउँदा खिचडी न भएर फरफराउँदो भात तयार हुन्छ । नयाँ धानको चामलको खिचडी पकाउँदा ‘मडबुझ’ भएर राम्रो जाउलो (खिचडी) तयार हुन्छ । खिचडीको साथमा मेथी, चम्सुर, पालुङ्गो, लहसुनको भुटुवा साग, आलु, काउली, भन्टाको भुजिया, पापड, अचार स्वाद मानीमानी खाइन्छ ।

घ्यू चाकु खाने पर्वको रुपमा पनि परिचित माघे संक्रान्तिका अवसरमा चाकुका विभिन्न परिकार बनाएर बिक्री गर्न व्यस्त टोखाका व्यवसायी । टोखामा बनाइने चाकु निकै मीठो मानिन्छ । तस्वीर : कृष्ण अधिकारी

मैथिली भाषामा ‘माघ मास घिव खिचडी खाउँ’ भन्ने लोकोक्ति नै छ । खिचडीमा घरको घ्यु अनिवार्यरूपमा हालिन्छ । मैथिली भाषाको अर्को उखान अनुसार–खिचडी के चार यार, पापड, दही, घिव, अचार’ । खिचडीको साथमा पापड, दही, घ्यु तथा अचार खाँदा अपूर्व स्वाद पाइन्छ भन्ने लोक मान्यता छ । घ्यु हालेको पहेँलो खिचडीमा तर लागेको सेतो दही तथा थालको वरिपरि कचौरामा लहरै राखिने साग र भुजियाको मनोरम दृश्य देखेर जो कोहीलाई खाउँखाउँ लाग्छ । त्यसमाथि अझै पापड तथा रातो भरुवा खुर्सानी र तेल चुहिँदै गरेको आँपको अचारले त भोजनलाई दिव्य नै बनाइदिन्छ ।

माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा मङ्गलबार झापाको कनकाई नदीमा मकर स्नान तथा पूजाअर्चना गर्न आएका ७नतसद्धालु भक्तजन । तस्वीर : सन्तोष शर्मा (बनियानी, झापा)

किसानको अगहनीको दाउनी (धान थन्काउने काम)प्रायः सिद्धिसकेको हुन्छ । खिचडीको दिन भखारी, डेहरीमा तेल, सिन्दूरले पूजा गरी त्यसको ‘आन’ (ढोका) खुल्दछ । खिचडीको दिन त्यसको पूजा गरेर खोलिन्छ । सर्वप्रथम भकारीबाट झिकिने अन्नलाइ ‘शिवअंशी’ को रूपमा गाउँघरमा रहेका शिव मन्दिरमा पठाइन्छ । त्यसपछि गच्छेअनुसार अन्न झिकेर पुरोहितलाई दान दिइन्छ । छोरीचेलीका लागि कोसेली भनेर पनि अन्न झिकेर राखिन्छ अनि मात्रै भकारीभित्रको अन्न स्वप्रयोगमा ल्याइन्छ ।

पुराना दिनमा भकारी खुल्दा उत्सवजस्तै हुन्थ्यो तर विस्तारै अब त्यो परम्परा हराउँदै गएको छ । भकारी खुल्ने दिन बेलुकाको समयमा अन्न बेचेर त्यस पैसाले माछा किन्ने, पकाउने, खाने प्रथा भने जीवित नै रहेको देख्दा हर्षानुभूति भने अवश्य नै हुन्छ ।

मुख्यमन्त्री पोखरेल : शुभकामना
बुटवल, १ माघ (रासस) : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले सबै जाति र समुदायको उत्थान र विकासका लागि ढोका खोलेको बताउनुभएको छ । मकर सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघी पर्वले बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता कायम गर्न सघाउ पु¥याउँदै आएको विश्वास व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा विविधतायुक्त नेपाली समाजमा कसैले मकर सङ्क्रान्तिको रूपमा र कसैले माघी पर्वको रूपमा मनाउने चलनअनुसार थारु र मगर समुदायले मुख्य पर्वका रूपमा माघीलाई धुमधामसँग मनाउने प्रचलन रहेको र यी दुई समुदायबाहेक अरु समुदायले मकर सङ्क्रान्तिको रूपमा मनाउने प्रचलनले यो पर्व सबैको साझा पर्वको रूपमा रहको उल्लेख गरिएको छ ।

मुख्यमन्त्री पोखरेलले राज्यले संवैधानिक व्यवस्थाअनुरूप लोकतन्त्रलाई नागरिकको जीवन पद्धति बनाउन अल्पसङ्ख्यक, आदिवासी, जनजाति र पछाडि पारिएका जाति तथा समुदायको उत्थानका लागि संवैधानिकरूपमै आयोग गठन गर्ने व्यवस्था गरेर सबैप्रति सम्मान व्यक्त गरेको उल्लेख गर्नुभएको छ ।

मुलुकमा तीन तहको चुनाव सम्पन्न भएपछि संविधानको कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यावहारिकरूपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने भएकाले अहिले मुलुक संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल, सुखी नेपाली बनाउने दिशामा अघि बढेकोले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा पुग्न प्रदेश सरकार योजनाबद्ध विकासको बाटोमा अघि बढेको बताउनुभएको छ । उहाँले प्रदेश सरकारले समृद्ध प्रदेश, खुशी जनताको लक्ष्य लिएर योजनाबद्ध विकासको दिशामा अघि बढेका अवस्थामा यसलाई सफल बनाउन प्रदेशका सबै राजनीतिक दल, समुदाय, सङ्घसंस्था र आमनागरिकमा आग्रह गर्नुभएको छ ।

हुम्ला जिल्लाकै महत्वपूर्ण धार्मिक स्थल खार्पुदोभानमा सोमबार रातिबाट माघे सङक्रान्ती पर्व विधिवत रुपमा सुरु भएको छ । जिल्लाका सातवटा गाउँपालिबाट पाप पखालिने धार्मिक विश्वास हुनाले मेलामा भक्तजन ।
हुम्ला जिल्लाकै महत्वपूर्ण धार्मिक स्थल खार्पुदोभानमा सोमबार रातिबाट माघे सङक्रान्ती पर्व विधिवत रुपमा सुरु भएको छ । जिल्लाका सातवटा गाउँपालिबाट पाप पखालिने धार्मिक विश्वास हुनाले मेलामा भक्तजनहरुको घुईचो लागेको छ ।
बेनीमा सञ्चालित माघे संक्रान्ति मेलामा बिक्री गर्न राखिएका स्थानीय बस्तु तथा सामग्रीको स्टल । पछिल्लो समय स्थानीय उत्पादनका सामग्रीको माग बढदो क्रममा छ । तस्वीर : कमल खत्री, बेनी (म्याग्दी)

प्रकाशित मिति: Jan 15, 2019

प्रतिक्रिया दिनुहोस्