Logo
१५ चैत्र २०८०, बिहीबार
(January 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई वर्षदेखि सिसाखानी उत्खनन् रोकिँदा स्थानीयवासी चिन्तित

दार्चुला  : दार्चुलाको महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाको सीमाक्षेत्र बरमुडेमा उत्खनन् शुरु गरिएको सिसाखानी विगत दुई वर्षदेखि रोकिएको छ ।

सिसाखानी उत्खनन् हुँदा गाउँमै रोजगारी पाउने आशामा बसेका स्थानीयवासी खानी उत्खनन् कार्य रोकिएपछि स्थानीयवासीमा निराशा छाएको छ ।

सिसा उत्खनन् शुरु गरेको ब्ल्याकहेड माइन्स प्रालि नेपाल सम्पर्कमा नआएको स्थानीयवासीले बताएका छन् । झण्डै डेढ वर्ष सम्भाव्यता अध्ययन र गुणस्तर मापन गरिसकेपछि सिसाखानी उत्खनन् शुरु गरिएको थियो । खानीबाट पाँच छ क्विन्टल बढी सिसा उत्खनन् भएपछि काम रोकिएको थियो ।

सिसाखानी उत्खनन् शुरु गरिएपछि गाउँमै रोजगारी पाउने आशा बोकेका स्थानीयवासी उत्खनन् कार्य अघि नबढेपछि अहिले कामको खोजीमा भारतीय बजार गएको स्थानीय महादेव ठगुन्नाले बताए । खानी शुरु भएदेखि नै स्थानीय मजदुरले नै काम पाउनुपर्ने माग स्थानीयवासीले गरेका थिए ।

खानीसम्म सडक पुगेको छैन । भौगोलिक रुपमा विकट भए पनि माइन्स प्रालिले खानी उत्खनन् शुरु गरेको थियो ।  “सडक पहुँचबाट टाढा रहेका कारण सबै क्षेत्रमा उपकरण पु¥याएर उत्खनन् हुने अवस्था अहिले नै थिएन”, व्ल्याक हेड माइन्स प्रालिका राममणि भुसालले भने । थौरै प्राविधिक समस्याका कारण पनि पुनः उत्खनन् गर्न नसकेको उनको भनाइ थियो ।

खानी उत्खनन्का लागि दक्ष जनशक्ति बाहिरबाटै ल्याउनुपर्ने अवस्था छ । ढिला भए पनि खानी उत्खनन् गरिने प्रालिले जनाएको छ । अहिले सडक पहुँच नहुँदा रानीशिखरबाट सडकसम्म पुग्नै चार घण्टा बढी उकाली ओराली गर्नुपर्छ ।

छ महीनामा चौध लाख राजश्व सङ्कलन

छोटी भन्सार दार्चुलाले चालू आर्थिक वर्षको छ महीनामा रु १४ लाख बढी राजश्व सङ्कलन गरेको जनाएको छ । दार्चुला सदरमुकाम खलङ्गाको धारचुलासँग जोडिएको भन्सार कार्यालयले सोमबारसम्म रु १४ लाख ५९ हजार ५२५ राजश्व सङ्कलन गरेको निमित्त प्रमुख नरसिंह बडालले बताए ।

कार्यालयले साउनमा रु दुई लाख १३ हजार ९४९, भदौमा रु एक लाख ५७ हजार १५४, असोजमा रु तीन लाख ३० हजार ९१२, कात्तिकमा रु तीन लाख ३२ हजार २७९, मङ्सिरमा रु एक लाख ३० हजार ५३० तथा पुस महीनामा रु दुई लाख ९४ हजार ७०१ सङ्कलन गरेको छ ।

प्रकाशित मिति: Jan 15, 2019

प्रतिक्रिया दिनुहोस्