Logo
७ बैशाख २०८१, शुक्रबार
(January 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी नियमावली संशोधनसंगै बढुवाको बाटो खुल्यो, अब तीन वर्षको प्रावधान

काठमाडौँ : मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रहरी नियमावली संशोधन गरेपछि प्रहरी निरीक्षकदेखि एसएसपीसम्मको बढुवाको बाटो खुलेको छ । चार वर्ष प्रावधानका कारण ६ महिनाभन्दा बढी समययता एसएसपीमा १५ दरबन्दी रिक्त रहेको थियो । एसपीहरुको बढुवा नहुँदा त्यसको प्रभाव प्रहरी निरीक्षकहरुसम्मको बढुवामा परेको थियो ।

राजपत्रांकित श्रेणीमा एउटा दर्जाबाट अर्को दर्जामा बढुवा हुन पछिल्लो दर्जामा कम्तिमा चार वर्ष काम गरेको हुनुपर्ने प्रावधान तीन वर्षको बनाइएको छ । सर्वोच्च अदालतले केही महिनाअघि गरेको फैसलामा तीन महिनाभन्दा बढी पद रिक्त गर्न नपाइने र कानुनले अड्चन गरे संशोधन गरेर बाटो खुला गर्न सकिने उल्लेख थियो ।

हालका सिनियर एसपीहरुको पदावधी आगामी फागुन १० गते मात्र चार वर्ष पुरा हुने भएकाले पहिलेकै नियमावलीका आधारमा प्रहरीको बढुवा हुन सक्ने स्थिती थिएन । असोज अन्तिम साता ११ एसएसपीलाई डिआइजीमा बढुवा गरिएपछि एसएसपीमा १५ दरबन्दी रिक्त थियो ।

त्यसअघि उक्त पदमा चार दरबन्दी रिक्त थिए । हालको प्रहरी नियमावलीको ब्यवस्थामा कुनै परिवर्तन नभए अब एसएसपीमा बढुवा हुनेमध्येहरुबाट एक जना प्रहरी महानिरिक्षक बन्ने निश्चित छ । यसैगरि एसपीमा खाली हुने २९ दरबन्दी पुर्तीमा पनि डीएसपीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यो ब्याचबाट पनि एक जना प्रहरी प्रमुख बन्ने निश्चित छ अहिलेको प्रहरी नियमावलीको ब्यवस्थामा उल्लेख भएको ३० वर्षे सेवा अवधी कायम रहे ।

प्रहरी नियमावली संसोधन भएपछि अहिले ३४ जना एसएपी बढुवाको प्रतिस्पर्धामा छन् । उनिहरुले एसपीमा कम्तीमा तीन वर्ष काम गरिसकेका छन् । २०७१ साल फागुन १० गते एकसाथ ३५ डीएसपीको बढुवा भएको थियो जसमा चार वटा प्रहरी निरिक्षकको ब्याचका अधिकृत थिए ।

त्यस एसपीको टोलीमा २०५१ साल चैतमा प्रहरी निरिक्षक भएका २२ जना, २०५२ साल असारमा प्रहरी निरिक्षक भएका ८ जना, २०४९ साल बैशाखमा प्रहरी निरिक्षक भएका एक जना र सोही वर्षको चैतमा प्रहरी निरिक्षक भएका चार जना प्रहरी अधिकृत थिए ।

ती एसपीमध्ये राजुबाबु श्रेष्ठ, थानेश्वर रेग्मी र तुल्सी अधिकारीले अवकाश पाईसकेका छन् । पहिलो नम्बरमा एसपीमा बढुवा भएका डा गणेश रेग्मीले २०४७ साल असारमा प्रहरी सहायक निरिक्षक(असईबाट सेवा सुरु गरेका थिए । उनले २०५१ साल चैतमा खुलाबाट प्रहरी निरिक्षकमा नाम निकालेका हुन् । उनले बढीमा एसएसपीबाटै अवकाश पाउनेछन् ।

एसपीको दोस्रो नम्बरमा श्याम ज्ञवाली छन् । ज्ञवालीले प्रहरी निरिक्षकबाट २०५१ चैतमा सेवा सुरु गरेका हुन् । प्रहरी नायब उपरिक्षक(डीएसपीमा ज्ञवालीसँगै बढुवा भएका विष्णु केसीलाई पनि शीर्ष स्थानमा रहेर बढुवा हुन सक्ने प्रहरी अधिकृतका रुपमा लिइन्छ । केसीले २०५२ असारमा प्रहरी निरिक्षकबाट सेवा सुरु गरेका हुन् ।

ज्ञवालीको टोलीभन्दा ६ महिनापछि एसपीमा बढुवा भएका दीपक थापा र अर्जुन चन्द ठकुरी पनि एसएसपीमा बढुवा हुने लाइनमा छन् । एसएसपी हुने लाइनमा चार जना महिला अधिकृत पनि देखिएका छन् ।

प्रकाशित मिति: Jan 14, 2019

प्रतिक्रिया दिनुहोस्