Logo
१३ बैशाख २०८१, बिहीबार
(January 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रीबाट कुटिएका भनिएका प्रदेश सचिव झा अस्पताल भर्ना, घटनाको छानविन शुरु

धनुषा : प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवबाट कुटिएका भनिएका प्रदेश सचिव विद्यानाथ झा अस्पताल भर्ना भएका छन् । कुटपिटबाट शरीरमा समस्या देखिएपछि सचिव झा रातिदेखि नै जनकपुरको केयर नर्सिंङ होममा भर्ना भएका हुन् ।

मन्त्रीको झापड र लात प्रहारबाट मुख र दाँतको मस्कुर सुन्निएको र दाँया हातको कुनै हाड भँचिएको जस्तो पीडा भएकाले रातिदेखि नै अस्पताल भर्ना भएको सचिव झाको भनाई छ ।

शरीर कमजोर जस्तो भएकाले रातिदेखि स्लाइन जारी रहेको र हातको एक्सरे गरिएको सचिव झाले बताउनुभयो । मन्त्रीबाट शरीरको विभिन्न भागमा लात र हातले प्रहार भएकाले शरीरको विभिन्न भागमा पछि समस्या देखिएको सचिव झाको दुखेसो छ ।

आफूले भने अनुकुलको एनजीओमा कार्यक्रम नपर्दा उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्रालयका सचिव झालाई मन्त्री यादवले आफ्नो कार्यकक्षमै बोलाएर प्रदेश २ का सभामुख सरोज यादवकै सामुन्ने कुटपिट गरेका थिए ।

यसैबीच उक्त घटनाको विषयमा औपचारिक रुपमा छानविन शुरु भएको छ । आईतवार घटना पश्चात आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा गठित ३ सदस्य टोलीले सोमबारबाट छानविन शुरु गरेको हो ।

सोमबार टोलीको बैठक बसेर दुवैपक्ष र घटना स्थलमा रहेका प्रत्यक्षदर्शीहरुसंग बुझ्ने काम शुरु गर्ने टोलीका सदस्य समेत रहनु भएका प्रदेश २ का मुख्य सचिव दीपक सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार घटनाको छानविन गरी सातदिन भित्र प्रतिवेदन तयार गरेर बुझाइने छ । तीन सदस्य छानविन टोलीको संयोजकमा कानुनमन्त्री यादव, सदस्यमा मुख्य सचिव सुवेदी र मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव हरि फुयाल सदस्य छन् ।

आईतवार आफुले भने अनुकुलको एनजिओमा कार्यक्रम नपार्दा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उदोग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नो कार्यकक्षमा बोलाएर प्रदेश २ का सभामुख सरोज यादवकै सामुन्ने हात र लातले कुटपीट गर्नुभएको थियो । घटनापछि आक्रोसमा सचिव झाले समेत मन्त्री यादवलाई तथानाम गाली गर्नुभएको थियो ।

प्रकाशित मिति: Jan 14, 2019

प्रतिक्रिया दिनुहोस्