Logo
१५ चैत्र २०८०, बिहीबार
(January 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आधुनिकताका नाममा विकृति : महतो भन्छन् -“आमाबुबालाई तिरस्कार गर्नेलाई सामाजिक बहिस्कार गरौं”

जनकपुर : आधुनिकताका नाममा विकृति फैलिरहेको भन्दै प्रदेश सांसद शत्रुधन महतोले वृद्ध आमाबुबालाई तिरस्कार गर्नेलाई समाजिक बहिस्कार गर्नुपर्ने बताएका छन् ।

धनुषाको मिथिला नगरपालिका २ नक्टाझिज स्थित हिमालय युवा क्लवको २८ औँ वार्षिक साधारणसभालाई उदघाटन गर्दै नेकपाका नेता एवं प्रदेश सांसद महतोले आमाबुबालाई वृद्धावस्थामा हेला र तिरस्कार गर्ने जस्ता व्यक्तिलाई समाजिक बहिस्कार गर्न आग्रह गरेका हुन् ।

केहिदिन अघि धनुषाको नक्टाझिजमा तीनजना सन्तानले आमाबुबालाई सेवा गर्न टेन्डर निकालेको कुरा जानकारीमा आएकोप्रति आक्रोस पोख्दै सांसद महतोले भने ‘यस्ता सन्तानलाई हामीले समाजिक बहिस्कार मात्र होइन, त्यस्तालाई जनप्रतिनिधिले नगरपालिका र वडा कार्यालयमा कुनै प्रकारको सिफारिस र सेवा सुविधा समेतबाट बन्चित गर्नुपछ ’
जन्म दिई सन्तालाई पालनपोषण गरी हुर्काएर ठुला बनाउने बुबाआमा भगवानको रुप भएकाले आफ्नै जन्मदातालाई नचिन्ने सन्तान मानव हुनै नसक्ने प्रदेश सांसद महतोको भनाई छ ।

पुर्वमन्त्री समेत रहेका महतोले सन्तालाई शिक्षादिक्षामा विषेश जोड दिनुपर्ने बताए । व्यक्ति शिक्षित भएपछि मात्र समाज विकिसित र समृद्ध हुने बताउँदै प्रदेश सांसद महतोले आफ्ना छोराछोरीलाई विद्यालय नपठाउने अभिभावकलाई समेत कुनै प्रकारको सिफारिस नगर्न र समाजिक दवावको बतावरण सृजना गर्नुपर्ने बताए ।

धनुषाको उत्तरी भेगको मिथिला नगरपालिकामा निलगाईको आतंकले किसानहरु चिन्तित भएको प्रसंगमा प्रदेश सांसद महतोले निलगाई नियन्त्रण गर्न सम्बन्धीत पक्षहरुसंग समन्वय गरेर तुरन्त पहलकदमी प्रतिवद्धता व्यक्त गरे ।

हिमालय क्लबको २८ औं साधारणसभा सम्पन्न

हिमालय युवा क्लवका अध्यक्ष अरुणकुमार महतोको अध्यक्षता तथा प्रदेशसभा सदस्य महतोको प्रमुख आतिथ्यमा भएको साधारणसभामा क्लवको वार्षिक आयव्यय विवरण, वार्षिक प्रगति विवरण, रक्तदान, सम्मान तथा पुरस्कार वितरण र सांस्कृति कार्यक्रम गरिएको छ ।

साधारणसभाको अवसरमा क्लवका उपाध्यक्ष विनोदकुमार महतोले स्वागत मन्तव्य राखेको थियो भने कोषाध्यक्ष कविता कुमारी सिन्हाले क्लवको वार्षिक आयव्यय विवरण प्रस्तुत गरेकी थिइन् । यस्तै क्लवको साधारणसभाको अवसरमा क्लवका सचिव शिवकुमार सिंहले वार्षिक प्रगति तथा अगामी योजनाहरु प्रस्तुत गरेका थिए ।

साधारणसभाको अवसरमा मिथिला नगरपालिका वडा नं. २ का वडा अध्यक्ष विहारी महतो, यूएनडिपीका प्रदेश प्रमुख अर्जुन कुशवाहा, क्लवको कानुनी सल्लाहकार तथा अधिवक्ता कालेश्वर महतो, सल्लाहकार भगलु महतो, नेकपा नेतृ ववी महतो, सुकजोर अधारभूत विद्यालयका प्रधानाध्यापक सत्रुधन महतो लगायत विभिन्न क्षेत्रका वक्ताहरुले आ-आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।

साधारणसभा कार्यक्रमको उद्घोषण क्लवका सचिव शिवकुमार सिंहले गरेका थिए । यता साधारणसभा अन्तर्गत भएको रक्तदान कार्यक्रममा ७ जना महिला सहित ४८ जनाले रक्तदान गरेका छन् ।

त्यस्तै साधारणसभाको अवसरमा सप्ताहव्यापी कार्यक्रम पनि गरिएको थियो । सो अवसरमा क्लवद्धारा सम्पन्न विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ ।

विभिन्न प्रतियोगिताहरुमा सहभागी संघसंस्था, बाल क्लव, विद्यालय र युवा क्लवका प्रतियोगी तथा विजेताहरुलाई प्रमाण पत्र, पुरस्कार तथा शिल्ड र स्टेशनरी सामग्री वितरण गरिएको छ ।

नक्टाझिज विश्वकर्माचौस्थित क्लवको प्राङ्गणमा भएको उक्त सबै कार्यक्रमहरु हेर्न हजारौंको संख्यामा स्थानीयबासी तथा अतिथिगणहरुको उपस्थिति रहेको थियो । यता क्लवले यस वर्षदेखि समाज सेवी स्वर्गीय सोमन महतो ‘देवान’ को नाउँमा स्थापना गरेको ‘सोमन देवान समाज सेवा सम्मान २०७५’ योगेन्द्र महतोलाई प्रदान गरिएको छ ।

त्यस्तै क्लवका कानुनी सल्लाहकार एवं अधिवक्ता कालेश्वर महतोले आफ्ना स्वर्गीय आमाबुवाको नाउमा स्थापना गरेको ‘जगिया जैलाल कुशवाहा शिक्षा स्मृति पुरस्कार २०७५’ दुई जना विद्यार्थीलाई प्रदान गरेको छ । एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने मिथिला नगरपालिका वडा नं. २ का छात्रा पुजा कुमारी महतो र छात्र आदित्य कुमार महतोलाई जनही रु.५००० हजारको पुरस्कार सहित सम्माण पत्र प्रदान गरिएको छ ।

पौष २२ गतेदेखि शुरु भएको हप्ताव्यापी वार्षिकोत्सव कार्यक्रम अन्तर्गत साईकल स्लोह, छात्रछात्रा दौड प्रतियोगिता, छात्रछात्रा व्याडमिन्टन चित्रकला, वृक्षारोपण, हाजिरी जवाफ प्रतियोगिता, गाउँटोल सरसफाइ कार्यक्रम गरिएको थियो । समाजिक, सांस्कृति, खेलकुद, शिक्षा, स्वास्थ्य, सरसफाइ लगायतको क्षेत्रमा क्लवले अग्रणी भूमिका खेल्दै आएको छ ।

ग्रामीण क्षेत्रकै सबैभन्दा चर्चित र सक्रिय युवा क्लवको रुपमा हिमालय युवा क्लवलाई चिनिँदै आएको छ ।
यसैबीच सोही समारोहमा हिमालय बहुउद्देश्य सहकारी संस्था लि. नक्टाझिजको १३औं वार्षिक साधारणसभा पनि गरिएको छ । सो साधारणसभा संस्थाका अध्यक्ष सत्यनारायण रायको अध्यक्षमा गरिएको छ । उक्त अवसरमा संस्थाका प्रबन्धक लक्ष्मीनारायण महतोले सहकारीको वार्षिक आयव्यय तथा प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

क्लबको साधारणसभा अवसरमा रक्तदान गर्दै प्रदेश सांसद सत्रुधन महतोकी पत्नी एवं नेकपा नेतृ बबी महतो ।

प्रकाशित मिति: Jan 13, 2019

प्रतिक्रिया दिनुहोस्