Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५० विमानस्थल मध्ये ३२ मात्र हवाई सेवा सञ्चालनमा, सुदृढीकरण र पूर्वाधार विकासमा प्राधिकरण

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्कअनुसार हाल मुलुकमा ५० विमानस्थल रहेका छन् । जसमध्ये ३२ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन भइरहेको छ।

मुलुकको हवाई यातायात सेवालाई सहज र प्रभावकारी बनाउन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले विमानस्थल सुदृढीकरणसँगै पूर्वाधार विकासलाई तीव्रता दिएको छ । भौगोलिक अवस्थितिअनुरुप क्यानले विमानस्थल निर्माण, स्तरोन्नति तथा सेवा सुदृढीकरणमा विशेष प्राथमिकता दिएको जनाएको हो ।

हवाई सेवालाई सुलभ, सहज र प्रभावकारी बनाई जनतालाई सेवा दिने उद्देश्यका साथ विमानस्थल विस्तार र पूर्वाधार निर्माणलाई तीव्रताका साथ अघि बढाइएको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताए ।

त्यस्तै, निर्माणाधीन ५ विमानस्थल कालीकोटको कोटवाडा, ओखलढुङ्गाको खिजी चण्डेश्वरी, गुल्मीको सिमीचौर, इलामको सुकीलुम्बा र अर्घाखाँचीको अर्धाभगवती सन्धिखर्कमा रहेको प्राधिकरणको २० औँ वार्षिकोत्सवका अवसरमा हालै सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।

एकतीस विमानस्थल कालोपत्रे हाल मुलुकभरका ३१ विमानस्थल कालोपत्रे भइसकेका छन् । गत आवमा नेपालगञ्ज विमानस्थलको धावनमार्ग, ट्याक्सी वे, एप्रोन ओभरले कार्य र थप २ वटा आन्तरिक विमानस्थल साँफेबगर र राजविराज विमानस्थलमा धावनमार्ग, ट्याक्सी वे एप्रोन कालोपत्रे कार्य सम्पन्न भएको छ।

त्यसैगरी, हालै मात्र जनकपुर विमानस्थलमा धावनमार्ग ओभरले कार्य सम्पन्न भएको प्राधिकरणले जनाएको छ । आन्तरिक थप ५ विमानस्थलःलामीडाँडा, थामखर्क, डोटी दीपायल, बैतडी र कालीकोटमा कालोपत्रे भइरहेका छन् । क्यानका अनुसार जुम्ला विमानस्थलमा ओभरले, चन्द्रगढी, विराटनगर, नेपालगञ्ज, सिमिकोट विमानस्थलमा एप्रोन विस्तार, लुक्ला र सिमिकोट विमानस्थलमा टर्मिनल विस्तार तथा हेलिपोर्ट निर्माण कार्य जारी रहेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बढ्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारको कार्य प्रभावकारी रुपमा अघि बढाइएको छ । विमानस्थलको ‘पार्किङ वे’ विस्तार कार्य अन्तिम चरणमा पुगेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए ।

उनका अनुसार विमानस्थलको धावनमार्गको पूर्वतर्फ सानो ठूलो गरी ४ वटा र हालको अन्तर्राष्ट्रिय पाकिङ क्षेत्रको दक्षिणतर्फ दुई वटा वाइड बडी विमान पार्किङ क्षेत्र विस्तारको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थलले मौजुदा ठूला जहाज पार्किङ वेको पूर्व र दक्षिणतर्फ बनाइरहेको दुई पार्किङ वे निर्माण भएपछि हालको भन्दा ५० प्रतिशत पार्किङ क्षमता बढ्ने महाप्रबन्धक क्षेत्रीको भनाइ छ ।

विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा अहिले तीनवटा ठूला (वाइड बडी) र ६ वटा साना (न्यारोबडी) गरी जम्मा नौ वटा जहाज मात्र पार्किङ गर्न सकिन्छ। नयाँ पार्किङ वे निर्माणपछि १३ वटा ठूला जहाज पार्किङ गर्न सकिनेछ । विमानस्थलको टर्मिनल विस्तार कार्य चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको छ भने धावनमार्ग विस्तारको कार्य पनि शुरु गर्ने योजना छ ।

धावनमार्ग कालोपत्रे प्रक्रिया शुरु अन्तर्राष्ट्रिय विमानस्थलको मौजुदा ‘रन्वे तथा ट्याक्सी वेको रिह्याबिलिटेसन’ को लागि ठेक्का सम्झौता भई कार्य प्रारम्भ भइसकेको प्राधिकरणका महानिर्देशक गौतमले जानकारी दिए ।

विमाानस्थलको पहिलोपटक धावनमार्ग पुनःकालोपत्रे गर्न लागिएको हो । सन् २०१९ को जुन महीनासम्म धावनमार्गको कालोपत्रे कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ । त्रिअवि विकास विस्तार तथा उड्डयन सुरक्षाको लागि विमानस्थलको पूर्वतर्फको करीब १४० रोपनी जग्गा अधिग्रहणतर्फ जग्गाको मुआब्जा वितरण सकिएको जनाइएको छ ।

विमानस्थलको आन्तरिक टर्मिनलमा ‘ब्यागेज ह्याण्डलिङ सिस्टम’ जडानका लागि खरीद सम्र्झौता सम्पन्न भइसकेको छ । राष्ट्रिय गौरवका आयोजना प्रगतितिर राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका निर्माणाधीन भैरहवास्थित गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको कार्य तीव्र गतिमा अगाडि बढेको छ ।

उक्त विमानस्थलनिर्माण कार्य सन् २०१९ जुन २८ सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेकोेमा यथा समयमै सम्पन्न हुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: Jan 12, 2019

प्रतिक्रिया दिनुहोस्