Logo
६ बैशाख २०८१, बिहीबार
(January 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्व राजा ज्ञानेन्द्र शाहको सन्देश : ‘देशको अस्तित्वमा शत प्रतिसत कालो बादल’

पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रले एउटा नागरिकको निम्ति देशभन्दा ठूलो अर्को कुनै वाद वा विचार हुन नसक्ने धारणा सार्वजनिक गर्नुभएको छ । २९७औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सन्देश दिँदै उहाँले नेपाली-नेपालीबीच फाटो पैदा गर्ने, दूराग्रह बढाउने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई क्षति पुऱ्याउने, अनुशासनहीनता र अराजकतालाई प्रोत्साहन गर्ने जस्ता कार्य कुनै वाद र विचारका आडमा गरिनु नहुने आफ्नो मान्यता रहेको बताउनुभएको हो ।

पूर्व महाराजाधिराजद्वारा जारी शुभकामना सन्देशमा ‘नेपाल चार वर्ण छत्तिस जातको फूलबारी हो, मेरा साना दुःखले आज्र्याको मुलुक होइन सबैलाई चेतना भया’ भन्ने दिव्य उपदेशको मर्मअनुरुपको व्यवहार गर्न नखोज्दा मातृभूमिको अस्तित्वमा शत प्रतिसतको कालो बादल मडारिएको उल्लेख गरिएको छ ।

नेपाली राष्ट्रिय एकताका प्रवर्तक राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको २९७औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभ अवसरमा म समस्त नेपाली दिदी बहिनी तथा दाजुभाइहरूमा परस्पर प्रेम, सद्भाव र एकताका निम्ति शुभकामना व्यक्त गर्दछु ।

सन्देशमा भनिएको छ-‘एउटा स्वतन्त्र राष्ट्रको सबैभन्दा महत्वपूर्ण क्षण राष्ट्र निर्माणकै दिन हो । राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर-वीरङ्गना एवम् सपुतहरूको उत्सर्ग हामी कहिल्यै भुल्न सक्दैनौँ र हुँंदैन । भुलेर, अल्मलिएर र आफ्नै अस्तित्व बोधबाट विष्मरण गर्दा देश यतिबेला जुन सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रँदै छ, यसले बडामहाराजाधिराजका दिव्य उपदेशको औचित्य स्मरण गराइरहेको छ ।’

शुभकामना सन्देशको अन्त्यमा भनिएको छ– ‘नेपाल रहँदा मात्र नेपाली हुनुको गौरव जीवन्त रहने यथार्थलाई आत्मसात गर्दै राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराजको पदचापमा हिँड्ने प्रेरणा सबै नेपालीमा प्राप्त हुने विश्वास हामीले गरेका छौँ । जय नेपाल !’

प्रकाशित मिति: Jan 10, 2019

प्रतिक्रिया दिनुहोस्