Logo
१३ बैशाख २०८१, बिहीबार
(January 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हात्ती आतंक : डेढ महिनादेखि सर्लाहीको लालबन्दी र ईश्वरपुरको जंगल छेउका बासिनदा त्रासित

करिव डेढ महिनादेखि सर्लाहीको लालबन्दी चुरे क्षेत्र र ईश्वरपुरको जंगल छेउमा वितण्डा मच्चाउँदै आएको हात्ती जिल्लाको घना बस्तीमा प्रवेश गर्न थालेका छन् । हात्तीले आतंक मच्चाउन थालेपछि स्थानीय त्रसित बनेका छन् । जंगली हात्तीले सोमबार राति लालबन्दी नगरपालिका-५ रञ्जीतपुर र वडा नम्बर ३ जब्दीमा आधा दर्जन घर भत्काएको छ।

मध्यरातमा बस्ती पसेको हात्तीले रञ्जीतपुर र जब्दीमा स्थानीयको घरको घेराबेरा भत्काउनुका साथै घरभित्र राखेको अन्नपात नष्ट गरेको छ। दुइटा जंगली हात्ती अचानक रञ्जीतपुरको घना बस्ती छिरेर घरमा आक्रमण गर्न थालेपछि स्थानीय त्रसित भएका थिए। स्थानीयले होहल्ला गरेपछि हात्ती त्यो बस्ती छोडेर अर्को बस्ती जब्दीतिर पसेको थियो।

हात्तीले जब्दीमा पनि एक घर भत्काउनुका साथै घरमा राखिएको अन्नपात खाएर नष्ट गरेको छ भने किसानले खेतमा लगाएको गहुँ, उखु, आलु लगायत तरकारी बालीमा पनि क्षति पुर्‍याएको स्थानीय अर्जुन चौधरीले बताए। करिव डेढ महिनाअघि जिल्लामा देखापरेको हात्तीको समूहले अहिलेसम्म पाँच दर्जनभन्दा बढी घर भत्काइसकेको छ। हात्तीले घरमा क्षति पुर्‍याउनुका साथै घरमा राखिएको अन्नपात समेत खाने गरेको छ।

चिसो मौसममा हात्तीले घर भत्काउँदा स्थानीयको बिजोग छ। हात्तीले घर भत्काएका कारण कतिपयको ओत लाग्ने ठाउँ समेत छैन। ज्याला मजदुरी गरेकाको घर हात्तीले भत्काउँदा घर बनाउन उनीहरूलाई सकस भइरहेको छ। उनीहरू अर्काको घरमा सहारा लिएर बस्दै आइरहेका छन्।

डेढ महिनाअघि चुरे बस्तीमा देखा परेको हात्ती आतंकका कारण लालबन्दी नगरपालिकाको हिरापुर, रानीगञ्ज, परवानीपुर, रञ्जीतपुर, जब्दी र ईश्वरपुर नगरपालिकाको गौरीशंकर, राइटरखोर लगायत जंगल छेउका बासिन्दा रातभर जाग्राम बस्न बाध्य छन्। वन जंगलमा घाँस दाउरा गर्न जान समेत समस्या भइरहेको बताएका छन्। यता घनाबस्तीमा छिरेको हात्ती आतंकका कारण स्थानीय खेतबारी समेत जान डराइरहेका छन्।

हात्ती आउने बित्तिकै गाउँले मिलेर भाँडा ठटाउने, आगो बाल्ने, पटका पडकाउने जस्ता काम गर्दै आएका छन्। हात्तीबाट बच्न गाउँलेहरू समूह बनाएर राति गस्ती समेत गर्दै आएका छन्। हात्ती आतंक सुरु भएको डेढ महिना बित्न लाग्दा समेत आतंक नियन्त्रण गर्न र क्षतिपूर्ति दिन सम्बन्धित निकायले कुनै सक्रियता नदेखाएको स्थानीयको गुनासो छ। समूहमा रहेको हात्तीलाई नियन्त्रणमा लिन नसकिने डिभिजन वन कार्यालयले बताउँदै आएको छ।

खान नपाएर मानव बस्ती छिरेको हात्तीलाई सुरक्षितसँग वन्यजन्तु आरक्षतर्फ धपाउने प्रयास गरिरहेको डिभिजन वन कार्यालयका प्रमुख माधव प्रसाद देवले बताए। उनले स्थानीयलाई सचेत भएर राति घरमै बस्न आग्रह गरे। हात्तीबाट पीडित भएकाको स्थानीय तहमार्फत क्षतिको विवरण संकलन भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ। ‘हामी हात्ती धपाउने प्रयास गरिरहेका छौं, हात्ती धपाउन अरू विकल्प छैन, थाल भाँडा ठटाउने, बत्ती बाल्ने जस्ता काम स्थानीयलाई गर्न आग्रह गरिरहेको छु,’ देवले भने, ‘यता हात्तीबाट पीडित भएकाको पनि क्षति विवरण संकलन भइरहेको छ।’

प्रकाशित मिति: Jan 9, 2019

प्रतिक्रिया दिनुहोस्