Logo
१६ चैत्र २०८०, शुक्रबार
(January 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफूबीचको सम्झौता हुवहु कार्यान्व्यन नगरे द्वन्दकालका दोषीविरुद्ध पनि जाइलाग्ने : डा. केसी

काठमाडौँ : डा.गोविन्द केसीले चिकित्सा शिक्षाका मामिलामा सरकार र आफूबीचको सम्झौता हुवहु कार्यान्व्यन नगरेमा आफू द्वन्दकालका जघन्य अपराधका दोषीहरुविरुद्ध समेत लड्ने चेतावनी दिएका छन् । सरकारले आफूसँग पटकपटक सम्झौता गरेको तर त्यसको कार्यन्वयमा जालझेल गरेको भन्दै आक्रोशित डा. केसीले अब सम्झौता कार्यान्यनमा चलखेल भएमा आफू द्वन्दकालका दोषीविरुद्ध जाइलाग्ने धम्की दिएका हुन्।

सोमबार त्रिवि शिक्षण अस्पतालको गणेशमान भवनमा पत्रकार सम्मेलनमार्फत सरकार र आफूबीचको सम्झौता विपरित संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले चिकित्सा शिक्षा विधेयकमा गरेको प्रस्ताव नसच्याए निर्धारित समय सीमा भन्दा अगावै अनशन बस्ने चेतावनी दिएका छन्। उनले पछिल्लो पटक इलाम पुगेर सम्झौताका लागि यही पुस २५ गते अर्थात मंगलबारसम्मको समयसीमा दिएका थिए।

उपसमितिले डा. केसीसँगको सम्झौता बिपरित आशयपत्र लिई प्रस्तावित मेडिकल कलेजले उपत्यका बाहिरका कुनैपनि विश्वविद्यालयबाट सम्बन्धन पाउन सक्ने बाटो राखेर आइतबार चिकित्सा शिक्षा विधेयक पारित गरेको थियो। यस्तै उपसमितिले आफ्नो प्रतिवेदनमा विधेयकको प्रस्तावनामा माथेमा कार्यदलको प्रतिवेदनको कुरा राख्ने विषय हटाएको थियो । सरकारले डा केसीसँग गरेको सम्झौतामा उक्त कुरा विधेयकमा राख्ने उल्लेख छ।

यस्तै उपसमितिले सिटिइभिटी अन्तर्गतका पिसिएल मुनिका कार्यक्रमलाई समयसीमा नराखेर सरकारले तोकेबमोजिम क्रमश फेज आउट गर्ने वा स्तरोन्नती गर्ने भन्ने प्रस्ताव गरेको थियो । तर डा केसीसँग भएको सम्झौतामा सिटिइभिटी अन्तर्गतका पिसिएल मुनिका कार्यक्रमलाई पाँच वर्षभित्र फेजआउट गर्ने उल्लेख छ।

डा.केसीले भनेका छन्,’चिकित्सा शिक्षा विधेयक अघि बढाउने क्रममा संसदीय उपसमितिमा तथाकथित साम्यवादी शीर्षस्त नेताहरु र उपसमितिका सांसदहरुले चलखेल गरेर हामीसँग भएको सम्झौता अनुरुप जनतामुखी र विद्यार्थीमुखी बुँदा हटाएर माफिया मुखी बुँदा हाल्दै विधेयक उपसमितिबाट पारित गरेकोमा हाम्रो ध्यानाकर्षण भएको छ।’

डा. केसीले ग्रामिण भेगमा सर्वसुलभ स्वास्थ्य उपचारको माग गरिरहेका बेला त्यही क्षेत्रका सांसदहरुले माफिया र दलको स्वार्थ पक्षपोषण गर्नतर्फ उद्दत रहेको भन्दै त्यो आफूहरुले कहिल्यै पूरा हुन नदिने चेतावनी दिएका छन्। उनले भनेका छन,’ ‘हामीसँग भएको सम्झौता भन्दा एक शव्द पनि तलमाथि भएमा माफियाको पक्षमा काम गर्ने जनता र विद्यार्थी मारा सरकार, शीर्षस्थ नेता तथा संसदीय समिति र सांसद लगायत जुनसुकै पदका सबै व्यक्तिलाई जिम्मेवार र जवाफदेही बनाइने छ।’

यस्तै निर्मला पन्तका हत्यारा र त्यस हत्या प्रकरणका दोषी मात्र नभई लापरवाही गर्ने, निर्दोषलाई फसाउने तथा प्रहरी संगठनलाई रक्षकको सट्टा भक्षक बनाउने सबै व्यक्तिहरुलाई समेत जवाफदेही बनाउने आफ्नो प्रमुख माग रहने चेतावनी समेत दिएका छन्।

प्रकाशित मिति: Jan 7, 2019

प्रतिक्रिया दिनुहोस्