Logo
७ बैशाख २०८१, शुक्रबार
(January 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

VVIP सुरक्षाका लागि प्रदेश सरकारले किन्यो ४ करोडको २ गाडी

विराटनगर : प्रदेश नम्बर १ सरकारले भीआईपीको सवारी व्यवस्थापनका लागि भन्दै दुईटा सुविधा सम्पन्न गाडी खरीद गरेको छ । चालू आर्थिक वर्षको बजेटमा सरकारले दुईटा गाडी खरीदका लागि चार करोड रुपैयाँ छुट्याएको थियो । सोही बजेटबाट निशानको एउटा गाडी २ करोड ७ लाख ५० हजार र अर्को १ करोड ७९ लाख ५० हजार रुपैयाँमा खरीद गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले मापदण्ड तोकेर ई-बिडिङबाट गाडी खरीद गरेको हो । गाडी खरीद एकाइ समितिका संयोजक तथा मन्त्रालयका शाखा अधिकृत मनोज कार्कीले दुवै गाडी मापदण्ड अनुसार भए/नभएको विषयमा प्राविधिक मूल्यांकन भइरहेको जानकारी दिए ।

उनले मूल्याकंनमा उपयुक्त ठहरिएपछि मात्रै मन्त्रालयले विक्रेतालाई खरीद गरिएको गाडी हस्तान्तरण गर्न अन्तिम स्वीकृति दिने बताए । प्रदेश सरकार बनेलगत्तै प्रदेशको सुरक्षा हेर्ने आन्तरिक मामिला तथा कानून मन्त्रालय र मोरङका प्रमुख जिल्ला अधिकारीलाई भीआईपीका लागि सुविधायुक्त र सुरक्षित गाडीको जोहो गर्न हम्मेहम्मे पर्दै आएको थियो ।

नयाँ गाडी खरीद गरिएपछि भने उच्च सुरक्षा प्रदान गर्नुपर्ने भीआईपी र भीभीआईपीको सवारी व्यवस्थापनबारे मन्त्रालयलाई चिन्ता घटेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली प्रदेशसभालाई सम्बोधन गर्न आउँदा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको गाडी व्यवस्थापन गरिएको थियो ।

त्यसमा वैदेशिक सहयोगबाट प्राप्त भएको स्टिकर टाँसिएका कारण आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले चढ्दै आएको गाडी प्रधानमन्त्रीका लागि छाडेका थिए ।

प्रकाशित मिति: Jan 6, 2019

प्रतिक्रिया दिनुहोस्