Logo
७ बैशाख २०८१, शुक्रबार
(January 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

झण्डै १२ अर्बका नोट छाप्दै नेपाल राष्ट्र बैंक

काठमाडौं : झण्डै १२ अर्ब बराबरका नोट छाप्ने तयारीमा नेपाल राष्ट्र बैंक जुटेको छ ।

५० रुपैयाँ अंकित दरका २३ करोड थान नोट छाप्न राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो । नेपाल राष्ट्र बैंकले आह्वान गरेको बोलपत्रअनुसार २३ करोड थान ५० दरका नोटको मूल्य ११ अर्ब ५० करोड रुपैयाँबराबर हुन्छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बोलपत्र प्रक्रियाअन्तर्गत योग्य कम्पनीले नोट डिजाइन, प्रकाशन र आपूर्ति गर्नुपर्ने छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार इच्छुक कम्पनीले आगामी फागुन ६ गतेभित्र बोलपत्र खरिद गरिसक्नुपर्ने छ । यसका लागि २० हजार रुपैयाँ लाग्ने छ भने यो रकम फिर्ता हुँदैन । फागुन ६ भित्र बोलपत्र पेस गरिसक्नुपर्ने र त्यसपछि प्राप्त बोलपत्र स्वीकृति हुने छैन ।

बोलपत्र पेस गर्ने कम्पनीका प्रतिनिधिको उपस्थितिमा थापाथलीस्थित राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा बोलपत्र खोलिने छ । बोलपत्र खोलिएको १ सय २० दिनसम्म म्याद रहने र यसका लागि १ करोड ४० लाख रुपैयाँ वा सो सरहको विनिमय दरअनुुसारको रकम जम्मा गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । यसको म्याद २०७६ साउन १ सम्म रहने छ ।

नेपालमा नोट छाप्ने ‘सेक्युरिटी प्रेस मेसिन’ नभएका कारण केन्द्रीय बैंकले विदेशबाट नोट छपाउँदै आएको छ । यसबाट ठूलो परिमाणबराबरको रकम विदेशिने गरेको छ ।

प्रकाशित मिति: Jan 4, 2019

प्रतिक्रिया दिनुहोस्