Logo
४ बैशाख २०८१, मंगलबार
(January 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कृषि मन्त्रीको गुनासो : बजेट अभावले मल पूर्ति गर्न सकिएन

काठमाडौं : कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले बजेटको अभावमा कृषकलाई पर्याप्त मलको व्यवस्था गर्न नसकिएको बताए । मन्त्री खनालले अर्थ मन्त्रालयले तत्काल बजेटको व्यवस्था नगरे रासायनिक मलको संकट झनै बढेर जाने पनि स्पष्ट पारे ।

शुक्रबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले रासायनिक मलको अभाव हुन नदिन देशका मुख्य-मुख्य पाँच शहरमा गोदाम स्थापना गर्नुपर्ने आवश्यक्ता औँल्याउँदै त्यसका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन पनि अर्थ मन्त्रालयसँग आग्रह गर्नु भयो ।

मन्त्री खनालले मलका लागि छुट्टयाइएको ६ अर्ब बजेट सकिएको उल्लेख गर्दै थप मल ल्याउनका लागि अर्थ मन्त्रालयसँग बजेटको माग गरिएको पनि समितिमा जानकारी गराए । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले मलको अभाव हुन नदिन वीरगंज, विराटनगर, भैरहवा, नेपालगंज र धनगढीमा गोदाम स्थापना गर्ने योजना बनाएको छ ।

तर त्यसलाई कार्यान्वयनमा लैजान बजेटको अभाव रहेको पनि मन्त्री खनालको भनाई छ । यता, अर्थमन्त्री डा. युवराज खतिवडाले भने मुलुकमा मलको अभाव हुन नदिन सरकारले रासायनिक मल कारखाना स्थापनाका लागि पहल गरिरहेको बताए ।

समितिको बैठकमा अर्थमन्त्री खतिवडाले रासायनिक मल कारखाना स्थापनाका लागि सरकारले अन्तर्राष्ट्रिय लगानी भित्र्याउन प्रयास गरिरहेको उल्लेख गर्दै आगामी चैत्र १५ र १६ गते आयोजना हुने ‘नेपाल लगानी सम्मेलन’मा पनि सो कारखाना स्थापनाका लागि आर्थिक सहायता जुटाउन पहल गर्ने योजना पनि अघि सारे ।

निजी क्षेत्रसँग सहकार्य गरेर नेपालमै रासायनिक मलको कारखाना खोल्दा मलको अभाव नहुने अर्थमन्त्री खतिवडाको भनाई छ । अर्थमन्त्री खतिवडाले मलमा किसानलाई दिइएको अनुदान सहायता दुरुपयोग हुने गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले किसानलाई मलको अभाव हुन नदिने गरी आयात गर्न कूटनीतिक पहल गर्ने प्रतिबद्धता जनाए ।

उनले छोटो प्रक्रियाबाट मल आयात गर्ने मोडालिटीका विषयमा विज्ञहरूसँग आवश्यक छलफल गरेर कार्य योजना तय गर्न पनि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई आग्रह गरे ।

प्रकाशित मिति: Jan 4, 2019

प्रतिक्रिया दिनुहोस्