Logo
१३ बैशाख २०८१, बिहीबार
(January 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खोटाङका बासिन्दा अब सदरमुकाम धाउनु नपर्ने

खोटाङ : जिल्लाका सबै स्थानीय तहमा बैंक स्थापना भएपछि आर्थिक कारोवार गर्न सदरमुकाम धाउनु नपर्ने भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङको सबै स्थानीय तहमा विभिन्न बैंकको शाखा विस्तार भएपछि सदरमुकाम दिक्तेल बजार धाउनुपर्ने बाध्यता हटेको हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र रहेको दिक्तेलबजारमा मात्रै केन्द्रित बैंकहरुले पछिल्लो समय सबै स्थानीय तहमा आफ्नो शाखा विस्तार गरेका छन् । खोटेहाङ गाउँपालिका र हलेसी तुवाचुङ नगरपालिका हुँदै अन्य गाउँपालिकामा समेत बैंकको शाखा विस्तार गरिएपछि सरकारी कारोवार तथा सर्वसाधारणलाई सहज भएको छ ।

स्थानीय तह कार्यान्वयनमा आएसँगै खोटेहाङ, एेँसेलुखर्क र केपिलासगढी गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार गरिएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकामा कृषि विकास र सालपा विकास, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सानिमा, साकेला गाउँपालिकामा एसबिआई र बराहपोखरी गाउँपालिकामा सनराइज बैंकको शाखा विस्तार गरिएको छ ।

जिल्लाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा रहेको हलेसी तुवाचुङ नगरपालिकामा सालपा विकास, सेन्चुरी र माछापुच्छ्रे बैंकको शाखा विस्तार गरिएको छ । माछापुछ्रेले उक्त नगरपालिकाको राजापानी, मङ्गटार, अर्खौले, धितुङ र च्यास्टिारमा सेवा केन्द्र सञ्चालन गरेको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रावाबेँसी गाउँपालिकामा सेन्चुरी कमर्सियल बैंकको शाखा विस्तार गरिएको छ ।

जिल्लाका अधिकांश स्थानीय तहमा तीनभन्दा बढी बैंकको शाखा तथा सेवा केन्द्र विस्तार गरेर सञ्चालनमा ल्याइएको छ । सबै स्थानीय तहमा बैंकको शाखा विस्तार भएपछि कर्मचारीको तलब, विकासे योजनाको भुक्तानी, सामाजिक सुरक्षा भत्ता वितरण लगायतमा सहज भएको जनप्रतिनिधिहरुले बताएका छन् ।

“बैंक नहुँदा गाउँपालिकामा चेक बनाएर भुक्तानी लिन दुई दिन पैदल हिँडेर दिक्तेलबजार पुग्नुपथ्र्यो,” एेँसेलुखर्क गाउँपालिकाका प्रमुख विश्वनाथ निरौलाले भने, “अहिले आफ्नै गाउँपालिकामा बैंकको शाखा विस्तार भएपछि दिक्तेलबजार धाउँदा लाग्ने समय र खर्च दुवैको बचत भएको छ ।”

हरेक स्थानीय तहमा बैंक तथा वित्तीय संस्था विस्तार गर्ने सरकारको नीतिअनुरुप जिल्लाका सबै स्थानीय तहमा बैंकको शाखा विस्तार गरिएको सांसद विशाल भट्टराईले बताए । “सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्था स्थापना गर्ने सरकारको नीतिमै उल्लेख छ,” उनले भने, “विस्तार गरिएका बैंक तथा वित्तीय संस्थाको सुरक्षा व्यवस्था पनि सरकार आफैँले गर्छ ।”

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्र दिक्तेलबजारमा राष्ट्रिय वाणिज्य, कृषि विकास, बैंक अफ काठमाडौँ, सेन्चुरी कमर्सियल बैंकलगायत आधा दर्जन ‘क’ वर्गका बैंक र अन्य ‘ख’ वर्गका सालपा विकास, ज्योति विकास बैंकलगायत सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति: Jan 3, 2019

प्रतिक्रिया दिनुहोस्