Logo
७ बैशाख २०८१, शुक्रबार
(January 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विशेषज्ञ सेवाका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थपिए तीन विभाग

धरान : एउटै विभागबाट सेवा प्रदान असहज भएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले मेडिसिन विभागअन्तर्गत रहेका अन्य तीन विभागलाई छुट्टै शुरु गरिएको छ । एउटै विभागबाट विभिन्न रोगको विशेषज्ञ सेवा तथा शिक्षा प्रदान गर्न असहज भए पश्चात मुटु, फोक्सो, पेटसम्बन्धी छुट्टै विभाग बनाइएको प्रतिष्ठानका अस्पताल निर्देशक डा गौरीशङ्कर साहले जानकारी दिए ।

इन्टर्नल मेडिसिनलाई अहिले विभाजन गरी मेडिसिन कार्डियोलोजी विभाग, मेडिसिन पल्मोलोजी विभाग, मेडिसिन ग्याष्ट्रोेलोजी विभाग छुट्टै बनाइएको छ । कार्डियोलोजी विभागको प्रमुखमा मुटुरोग विशेषज्ञ प्राडा प्रल्हाद कार्कीलाई जिम्मेवारी दिइएको छ । यस्तै फोक्सो सम्बन्धी विभाग पल्मोलोजीको जिम्मेवारी डा नरेन्द्र भट्टलाई दिइएको छ ।

पेटसम्बन्धी ग्याष्ट्रोेलोजी विभागको प्रमुखमा डा विक्रम श्रेष्ठ नियुक्त भएका छन् । यसअघि सबै विभागको प्रमुखमा प्राडा सञ्जीवकुमार शर्मा रहेका थिए । उनलाई जनरल मेडिसिनको विभागीय प्रमुखमा यथावत राखिएको अस्पताल निर्देशक साहले जानकारी दिए । ६ महीनाअघि नै कार्यकारिणी समितिमा विशेषज्ञ सेवाका लागि छुट्टै विभाग बनाउने सैद्धान्तिक निर्णय भएको तर जनशक्ति अभावले विभाग छुट्याइएको थिएन ।

सहज उपचार र शिक्षाका लागि मङ्गलबारदेखि छुट्टै विभाग सञ्चालनमा ल्याइएको प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियारले जानकारी दिए । “एकै स्थानबाट धेरै सेवा दिँदा समस्या थियो, अब भने बिरामीलाई पनि सहज हुनेछ”, उपकुलपति रौनियारले भने । प्रतिष्ठानमा बिरामीको चापलाई कम गर्न तथा मेडिकल शिक्षामा सबै विभागबाट सेवा सहजरूपमा उपलब्ध गराउन विभाग थप गरिएको प्रतिष्ठानका उपकुलपति प्राडा रौनियारको भनाइ छ ।

प्रतिष्ठानले चाँडै मुटु र क्यान्सरका बिरामीका लागि विशेषज्ञ सेवा विस्तारका लागि छुट्टै भवन बनाउने तयारी थालेको छ । क्यान्सर रोगको शल्यक्रिया, किमोथेरापी र रेडियसन थेरापी सञ्चालनका लागि अमेरिकास्थित विनय फाउण्डेशनसँग केही दिनअघि सम्झौतासमेत भएको छ । यो सेवा सञ्चालन भएपछि क्यान्सरका बिरामीले भरतपुर र काठमाडौँ जान नपर्ने अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: Jan 3, 2019

प्रतिक्रिया दिनुहोस्