Logo
८ बैशाख २०८१, शनिबार
(January 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोल्पामा अस्थायी साधनको प्रयोगकर्ताको संख्या बढ्दै

रोल्पा : रोल्पामा परिवार नियोजनको अस्थायी साधन प्रयोगकर्ताको दर बढ्दै गएको छ । परिवार नियोजनको अस्थायी साधनबारे विगतमा भ्रम रहँदा यसको प्रयोगकर्ता कम रहेपनि पछिल्ला दिनमा आएको सचेतनासँगै यसको प्रयोगकर्ता बढेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको तथ्याङ्कअनुसार जिल्लामा आर्थिक वर्ष २०७२/७३ मा ३७ प्रतिशतले परिवार नियोजनको अस्थायी साधन प्रयोग गरेकामा आव २०७३/७४ मा यो दर ३९ प्रतिशत पुगेको थियो । यसैगरी आव २०७४/७५ मा यसरी अस्थायी साधन प्रयोग गर्नेको सङ्ख्या ४० प्रतिशत पुगेको देखिएको छ ।

यसरी अस्थायी साधन प्रयोग गर्नेमध्ये २६ प्रतिशतले इम्प्लान्ट प्रयोग गर्ने गर्दछन् । त्यसैगरी २४ प्रतिशतले कण्डोम प्रयोग गर्ने देखिएको छ । डिपो प्रयोग गर्नेको सङ्ख्या २३ प्रतिशत देखिएको छ । जिल्लामा आइयुसिडी र पिल्स प्रयोगकर्ता क्रमशः ४ र ६ प्रतिशत रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ ।

जिल्लामा स्थायी बन्ध्याकरण गर्नेको सङ्ख्या भने १७ प्रतिशत मात्र देखिएको छ । पुरुष बन्ध्याकरण भ्याक्सेटोमी र महिला स्थायी बन्ध्याकरण मिनिल्याप गर्नेको सङ्ख्या अस्थायी साधन प्रयोगकर्ताको तुलनामा कम रहेको बताइन्छ ।

जिल्लामा सबै अस्थायी साधन प्रयोगमा किशोरीको आकर्षण देखिएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अनमी नैना डाँगीले जानकारी दिए ।

प्रकाशित मिति: Jan 2, 2019

प्रतिक्रिया दिनुहोस्