Logo
१३ बैशाख २०८१, बिहीबार
(January 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विमानस्थलजस्तो संवेदनशील ठाउँमा हातले छामछुम गरेर सामान जाँच

डोल्पा : हिमाली जिल्ला डोल्पामा रहेको एक मात्र जुफाल विमानस्थलमा यात्रुको सामान जाँच गर्ने एक्स-रे मेशिन नहुँदा समस्या भएको छ ।

विमानस्थलजस्तो संवेदनशील ठाउँमा सामान जाँच गर्ने एक्स-रे मेशिन नहुँदा हातले छामछुम गरेर लान हुने नहुने सामानको ग्यारेन्टी गर्ने गरिएको विमानस्थलको सुरक्षामा खटिएका प्रहरीले गुनासो गर्ने गरेका छन् ।

ठूलीभेरी नगरपालिका-७ मा पर्ने जुफाल विमानस्थल डोल्पालीका लागि जिल्ला बाहिर आवातजावत गर्ने मात्र नभएर दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने भरपर्दो माध्यामको रुपमा रहेको छ ।

“डोल्पाली आवतजावत गर्दा हवाइजहाजनै धेरै प्रयोग गर्दै आएकाले सधैँजसो विमानस्थलमा भीडभाड हुन्छ, कहिलेकाहीँ प्रहरीले सामान जाँच गर्दागर्दै जहाज आइपुग्छ, हतार हतारमा यात्रुका झोला वा अन्य सामान जाँच गरेर पठाउनुपर्ने बाध्यता छ”, विमानस्थल सुरक्षा प्रमुख कमल शाहले बताए ।

मेशिनद्वारा गर्नुपर्ने काममा हातले छामछुम गरेर लान हुने नहुने वस्तु यकिन गरेर पठाउँदा कहिलेकाहीँ प्रतिबन्धित वस्तु वा सामान पनि छिर्न सक्ने सम्भावना उत्तिकै हुने प्रमुख शाहले बताए ।

“हवाइयात्रा भरपर्दो र सुरक्षित हुने भएकाले विभिन्न प्रकारका मान्छेले प्रयोग गर्ने गर्छन्, उनीहरु कुन उद्देश्यले हिँडेका छन् के कस्तो सामान बोकेका छन् त्यसको भरपर्दो जाँचका लागि एक्स-रे मेशिन आवश्यक रहेको छ”, विमानस्थल प्रमुख शाहले थपे ।

यसले यहाँको सुरक्षा व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन समेत सहयोग पुग्ने बताइएको छ । पछिल्लो समयमा डोल्पा घुम्नका लागि प्याकेजनै बनाएर आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

पर्यटकको बढोत्तरीसँगै विमानस्थलमा यात्रुको चाप पनि दिन प्रतिदिन बढ्दै गएको सो क्षेत्रमा सञ्चालनमा आएका विभिन्न एअरलाइन्सले जानकरी दिएका छन् । विमानस्थलमा एउटा एक्स -रे मेशिन आवश्यक भएको जुफाल विमानस्थल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: Jan 1, 2019

प्रतिक्रिया दिनुहोस्